नवनिर्वाचित सांसदको शपथ चैत १२, मातृभाषामा शपथका लागि ३ दिनअघि जानकारी दिनुपर्ने
आगमी चैत १२ गते हुने नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको लागि हुने सपथ ग्रहण कार्यक्रममा मातृभाषामा शपथ लिन चाहने सदस्यहरुले ३ दिन अगावै संसद् सचिवालयलाई जानकारी दिनुपर्ने छ ।
प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ आगामी चैत १२ गते हुने कार्यक्रम तय भएको छ। यसअघि चैत ११ गते नै ज्येष्ठ सदस्यले राष्ट्रपतिसमक्ष शपथ लिनेछन्। त्यसपछि सोही ज्येष्ठ सदस्यले बाँकी सांसदहरूलाई शपथ खुवाउने व्यवस्था छ।
शपथसम्बन्धी ऐन २०७९ अनुसार शपथ लिँदा वा गराउँदा सरकारी कामकाजको नेपाली भाषामा गर्नुपर्ने व्यवस्था छ। साथै, नेपालमा बोलिने आफ्नो मातृभाषामा पनि शपथ लिन सकिने कानुनी सुविधा छ। त्यसका लागि सम्बन्धित व्यक्तिले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी प्रमाणित गरेर शपथ लिनुअघि पेश गर्नुपर्ने उल्लेख गरिएको छ।
शपथ लिने व्यक्तिले नेपाली भाषामा शपथ लिएको अवस्थामा दुई प्रति र मातृभाषामा शपथ लिएको अवस्थामा पनि दुई प्रति हस्ताक्षर गरी शपथ गराउने अधिकारीसमक्ष बुझाउनुपर्ने प्रावधान रहेको छ।
शपथका क्रममा सांसदहरूले औपचारिक पोशाकसँगै आफ्नो संस्कृति, परम्परा वा पहिचान झल्किने मर्यादित पोशाक पनि लगाउन पाउने व्यवस्था रहेको छ। यसले शपथ समारोहलाई विविधता र पहिचानको झल्को दिने अपेक्षा गरिएको छ।
