पार्टीभित्रकै अन्तर्घातले कांग्रेस २१ क्षेत्रमा हार्यो : प्रवक्ता चालिसे
काठमाडौँ । नेपाली कांग्रेस ले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा गर्दै कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ।
पार्टीको जारी केन्द्रीय समितिको बैठकमा भएको समीक्षाबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले ५ देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रमा मुख्यत: आन्तरिक कारण नै जिम्मेवार रहेको बताए।
उनका अनुसार ३ हजारदेखि ५ हजारसम्मको मतान्तरमा हार भएका क्षेत्रमा आन्तरिक मतभिन्नतासँगै चुनावी अभियान कमजोर देखिएको छ। यस्तै ५ हजारदेखि १० हजारसम्मको ठूलो मतान्तरमा पराजित भएका क्षेत्रमा अन्तर्घात, कमजोर क्याम्पेन र प्रतिकूल ‘न्यारेटिभ’ प्रमुख कारण बनेको निष्कर्ष निकालिएको छ।
चालिसेले परम्परागत मत कसरी अन्यत्र सरेको भन्ने विषयमा पार्टीले गहन छलफल गरिरहेको बताउँदै ‘भोट माइग्रेशन मात्रै हो कि मतदाताको सोचमै परिवर्तन आएको हो’ भन्ने विषयलाई गम्भीर रूपमा हेरिएको जानकारी दिए।
उनले केही क्षेत्रमा संगठनात्मक कमजोरीसँगै मतदाताको पार्टीप्रतिको विश्वास घटेको संकेत पनि देखिएको बताए। ८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य हुँदाहुँदै अपेक्षित मत नआउनु पार्टीका लागि चिन्ताको विषय बनेको उनको भनाइ छ।
जारी बैठकमा निर्वाचन समीक्षा र सभापतिको राजीनामा सम्बन्धी विषयमा केन्द्रित भएर छलफल भइरहेको छ। पार्टीले अब संगठन सुदृढ गर्दै जनतामाझ पुनः सशक्त रूपमा जाने कार्यदिशा तय गर्ने तयारी गरेको जनाएको छ।
