फागुन २१ को निर्वाचन इतिहासकै शान्तिपूर्ण र व्यवस्थित: निर्वाचन आयोग

 फागुन २१ को निर्वाचन इतिहासकै शान्तिपूर्ण र व्यवस्थित: निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई नेपालमा भएका चुनाव मध्ये सबैभन्दा शान्तिपूर्ण र विवादरहित निर्वाचनका रूपमा मूल्यांकन गरेको छ । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बुधबार निर्वाचन आयोगमा आयोजित जलपान समारोहमा यस्तो धारणा व्यक्त गरेका हुन् ।

भण्डारीका अनुसार यसपटकको निर्वाचनको क्रममा कुनै पनि स्थानमा  झैझगडा वा विवादका कारण पुनः मतदान गर्नुपर्ने अवस्था सिर्जना नभएको बताए । त्यसैले  यस निर्वाचनलाई विगतको तुलनामा थप व्यवस्थित र सफल रूपमा सम्पन्न भएको उनले बताए।

उनले निर्वाचन अवधिभर राजनीतिक दल, उम्मेदवार तथा मतदाताले देखाएको संयम र जिम्मेवारीपूर्ण व्यवहारको प्रशंसा समेत गरे। उनले यस्तो सहकार्य र अनुशासनले नै निर्वाचनलाई शान्तिपूर्ण बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

जेनजी आन्दोलनपछिको विशेष परिस्थति तथा छोटो समयमा निर्वाचन सम्पन्न हुनुले  अन्तर्राष्ट्रिय रूपमा पनि सकारात्मक सन्देश गएको उनले बताए। अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले समेत निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित भन्दै उच्च मूल्यांकन गरेको प्रतिवेदन प्राप्त भएको आयोगले जनाएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *