रवि लामिछाने छुटाउन अज्ञात पत्रमा जबरजस्ती हस्ताक्षर गराइयो : जेलरको बयान
काठमाडौं । भदौ २४ मा नख्खु कारागारका जेलर उपसचिव सत्यराज जोशीले आफूलाई अत्यधिक डर देखाई जीवन– मरणको त्रासमा पारेर एक अज्ञात पत्रमा हस्ताक्षर गर्न बाध्य बनाइएको बयान दिएका छन् ।
उनले रास्वपाका सभापति रवि लामिछानेलाई बाहिर निकाल्न त्यस्तो गरिएको बयान दिएका हुन् ।
उनले गौरीबहादुर कार्की नेतृत्वको आयोगसमक्ष यस्तो बयान दिएका हुन् । जनआस्थाबाट सौजन्यमा प्राप्त प्रतिवेदनमा भनिएको छ– म र प्रशासनिक कर्मचारीहरु मनोसामाजिक अपांग बन्दी अस्पताल भवनभित्र लुकेर ज्यान जोगाउने प्रयासमा थियौं । सो क्रममा भीडले मलाई अत्यधि डरधम्की दिई जीवन–मरणको त्रासमा पारी एक अज्ञात पत्रमा हस्ताक्षर गर्न बाध्य बनायो ।”
उनले पत्रको विषयवस्तुबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।
“उक्त हस्ताक्षर करकाप र आतंकपूर्ण अवस्थामै गरिएको हुँदा त्यसको कुनै वैधानिक हैसियत छैन,” बयानमा भनेका छन् ।
उनले दिउँसो १ बजेर ४० मिनेट जाँदा रवि लामिछाने छोड भन्ने नारासहित कारागारको गेटमा ढुंगामुढा र तोडफोड गरिएको बयान दिएका छन् ।
