पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न
सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका मा वित्तीय संघीयता, प्राकृतिक स्रोत परिचालनबाट प्राप्त रोयल्टी बाँडफाँट तथा उपयोग र स्थानीय योजना तर्जुमा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष टासी लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङ प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएको थियो ।
साथै आयोगका सदस्य विपिनराज निरौला लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन, प्राकृतिक स्रोतको दिगो उपयोग, रोयल्टी बाँडफाँटको विधि तथा त्यसको स्थानीय तहमा उपयोग गर्ने तरिकाबारे विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गुरुङले स्थानिय तहले गर्ने काम,कारबाहिका बारेमा जानकारी गराउनुभयो । सहभागीहरूलाई स्थानीय तहको योजना निर्माण प्रक्रियालाई अझ वैज्ञानिक, पारदर्शी र परिणाममुखी बनाउन आवश्यक सीप तथा ज्ञान प्रदान गरिएको गुरुङले बताउनुभयो ।
प्रमुख अतिथि गुरुङले प्राकृतिक स्रोतबाट प्राप्त हुने आम्दानीलाई न्यायोचित र प्रभावकारी रूपमा बाँडफाँट गरी स्थानीय विकासमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले स्थानीय तहहरूलाई संघीयताको मर्मअनुसार स्रोत परिचालन र योजना कार्यान्वयनमा थप जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष लामाले यस्ता प्रशिक्षण कार्यक्रमले स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै गाउँपालिकाले प्राप्त स्रोतको सदुपयोग गर्दै दिगो विकासमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमले स्थानीय तहमा वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहितालाई थप सुदृढ बनाउने अध्यक्ष लामाले बताउनुभयो । कार्यक्रममा पालिकाका प्रशासकिय अधिकृत रामप्रसाद न्यौपानेले पालिकाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईंकेलले स्वागत मन्तव्य राख्नुभयो भने वडा अध्यक्ष,जनप्रतिनिधि,शाखा प्रमुख लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।
