अब नेपाली फुटबलको जिम्मा राखेपले लिनुपर्छ : नेम्वाङ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का निलम्बित अध्यक्ष पंकजविक्रम नेम्वाङले अबको नेपाली फुटबलको जिम्मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले लिनुपर्ने बताएका छन् ।
एन्फा निर्वाचनको लागि झापामा पुगेका मताधिकार प्रतिनिधिहरूको भेलामा बोल्दै उनले भने, “हामी निलम्बित भयौँ । अब बल राखेपको कोर्टमा छ । हामीले सम्झाउन सकेनौँ । अब फिफाले राखेपसँग सिधै छलफल गर्नेछ ।”
एन्फा महासचिव किरण राईले अबको फुटबल के हुने हो भनी राखेपसँग प्रश्न राखे । उनले भने, “अबको दुई दिनमा नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीलाई लाओस पठाउनु छ । अन्तर्राष्ट्रिय महिला सिरिज छ । त्यसको काम कसले गर्ने । हामी त निलम्बनमा छौँ । केही गर्न मिलेन । अब त्यो काम राखेपले गर्नुपर्छ ।”
महासचिव राईले थपे, “एन्फाको चारवटा एकेडेमी सञ्चालनमा छ । त्यो अब कसले हाँक्छ ?” उनले राखेपले निलम्बन गरेको दिनलाई नेपाली फुटबलको कालो दिनसमेत भने ।
शुक्रबार चैत्र १३ गते झापामा एन्फाको अर्ली इलेक्सनको कार्यतालिका थियो । तर, सरकारको निलम्बन, थुप्रै उमेदवारहरूको बहिष्कारका बीच हिजो साँझ निर्वाचन समितिले निर्वाचन स्थगित गरेको थियो ।
त्यसपछि साधारणसभा भेलामा परिणत हुन पुगेको थियो । त्यसलाई सम्बोधन गरेका अध्यक्ष पंकजले उपस्थित प्रतिनिधिहरूलाई कुनै दुःख नमान्न आग्रह गर्दे भने, “तपाईंहरू उच्च मनोबल लिएर जानुस् । ढिलो चाँडो सत्यको जित हुनेछ ।”
उनले भोलिका दिनमा एन्फा फर्किने विश्वास व्यक्त गरेका थिए ।
