रास्वपाको अपिल: कर्मचारीलाई दलीय प्रभावबाट टाढा रहन आग्रह

 रास्वपाको अपिल: कर्मचारीलाई दलीय प्रभावबाट टाढा रहन आग्रह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले निजामती कर्मचारीहरूलाई पूर्ण रूपमा तटस्थ, निष्पक्ष र जनमुखी भएर काम गर्न आग्रह गरेको छ। पार्टीले प्रशासनिक संयन्त्रलाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्नेमा जोड दिँदै कुनै पनि दल वा समूहको प्रभावमा नपर्न स्पष्ट अपिल गरेको हो। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी ले जारी गरेको विज्ञप्तिमा विगतमा देखिएको जस्तो दलीय दबाब, त्रास र प्रभावका आधारमा काम गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उल्लेख गरिएको छ। उनले कर्मचारीहरूको प्राथमिक कर्तव्य जनसेवा र व्यावसायिकता भएको स्पष्ट पारे। विज्ञप्तिमा निजामती सेवाभित्र विभिन्न नाममा समूह वा अभियान सञ्चालन गरी पार्टी र नेतृत्वको नाम जोडेर भ्रम फैलाउने प्रयासप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। यस्ता गतिविधिसँग पार्टीको कुनै सम्बन्ध नरहेको स्पष्ट पार्दै कसैले आफ्नो स्वार्थका लागि पार्टीको नाम दुरुपयोग गरेमा त्यसप्रति सचेत रहन आग्रह गरिएको छ। पार्टीले प्रशासनलाई “मेरिटोक्रेसी” अर्थात् योग्यताका आधारमा सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ। कर्मचारीहरू राज्य र जनताप्रति मात्र उत्तरदायी हुनुपर्ने धारणा दोहोर्‍याउँदै दलीय आडमा काम गर्ने संस्कृतिले सुशासनमा नकारात्मक असर पार्ने उल्लेख गरिएको छ। रास्वपाले सबै राष्ट्रसेवक कर्मचारीहरूलाई निष्पक्षता, पारदर्शिता र जिम्मेवारीका साथ सेवा प्रवाहमा केन्द्रित हुन अपिल गर्दै प्रभावकारी सार्वजनिक सेवा र विकास व्यवस्थापनका लागि प्रशासनिक सुधार अपरिहार्य रहेको बताएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *