पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

 पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई प्रहरीले शनिबार भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको छ। उनीमाथि अनुसन्धान अघि बढाउने निर्णयसँगै प्रहरी टोलीले निवासमै पुगेर नियन्त्रणमा लिएको हो।

यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखक लाई पनि भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ गरिएको थियो। दुवैलाई ‘जेनजी’ आन्दोलनका क्रममा भएको बल प्रयोगसम्बन्धी घटनामा अनुसन्धान गर्न लागिएको हो।

नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो। आयोगले उक्त घटनामा जिम्मेवारी निर्धारण गर्दै ओली र लेखकविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो।

सोही सिफारिस कार्यान्वयनका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोली, एसएसपी सन्तोष खड्काको नेतृत्वमा, ओली निवास पुगेको थियो। कार्यालयका एक अधिकृतका अनुसार उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया सुरु गरिएको छ।

यसैबीच, आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति लापरबाही भएको ठहर गर्दै आयोगले तत्कालीन गृहमन्त्री लेखकलाई तीनदेखि १० वर्षसम्म कैद सजाय सिफारिस गरेको छ। सरकारले उक्त प्रतिवेदनलाई कार्यान्वयन गर्ने निर्णय गरेसँगै उच्च तहका नेतामाथि कारबाही प्रक्रिया अघि बढेको हो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *