रोशी खोलाको बाढीले बिपी राजमार्गको डाइभर्सन बगायो, सडक पूर्ण रूपमा अवरुद्ध
काठमाडौँ । शुक्रबार साँझ परेको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी राजमार्गअन्तर्गत रोशी क्षेत्रको अस्थायी सडक (डाइभर्सन) बगाएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। चौकीडाँडादेखि नेपालथोकसम्मको करिब चार किलोमिटर सडकखण्ड बाढीले बगाएपछि शुक्रबार साँझदेखि नै सवारी आवागमन ठप्प भएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार राजमार्ग नखुलेसम्म शनिबार रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा शनिबार बिहानदेखि अस्थायी सडक पुनः निर्माण गरी यातायात सञ्चालन गर्ने प्रयास गरिए पनि निरन्तरको वर्षाका कारण काम अघि बढाउन कठिन भएको प्रहरीले जनाएको छ।
प्रमुख प्रहरी उपरीक्षक कोमल शाहका अनुसार रोशी खोलाको पानीको बहाव घटेपछि आइतबार बिहानदेखि डाइभर्सन पुनः निर्माण गरी सवारी सञ्चालनमा ल्याउने प्रयास जारी रहनेछ।
डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले गत वर्षको बाढीपहिरोपछि बनाइएको १८ किलोमिटर डाइभर्सनमध्ये विभिन्न स्थानका करिब चार किलोमिटर सडक बगाएको जानकारी दिए। बिरुवाडाँडा, कालढुङ्गा, चौकीडाँडा र मङ्गलटार क्षेत्रमा पहिरो तथा लेदो मिसिएको बाढीले सडकमा थप क्षति पुर्याएको छ।
बाढीको घटनामा रोशी गाउँपालिका–७ का करिब ४० वर्षीय कुन्साङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी राजमार्ग निर्माण कार्यमा संलग्न सुपरभाइजर रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यस्तै, चौकीडाँडा नजिकै बाढीमा फसेका सात जनाको उद्धार गरिएको छ भने बाढीले एक मोटरसाइकल र एक इलेक्ट्रिक गाडी बगाएको प्रहरीले जनाएको छ।
यसैबीच राजमार्ग अवरुद्ध भएपछि ट्राफिक प्रहरीले शुक्रबार साँझदेखि नै सवारीसाधन विभिन्न स्थानमा ‘होल्ड’ गरेको थियो। धुलिखेलको काभ्रेभन्ज्याङ र भकुण्डे तथा पूर्वबाट राजधानी प्रवेश गर्ने नेपालथोक र मङ्गलटार क्षेत्रमा सवारी रोकिएको छ।
अधिकारीहरूका अनुसार पानीको बहाव घटेपछि मात्र डाइभर्सन पुनः निर्माण सम्भव हुने भएकाले राजमार्ग खुल्न अझै समय लाग्न सक्ने अनुमान गरिएको छ।
