इरानको मिसाइल आक्रमणपछि इजरायलको केमिकल प्लान्टमा आगलागी
- Uncategorized
आहा नेपाल
- चैत्र १६, २०८२
- 0
- 4
- 3 minutes read
काठमाडौं । इरान र इजरायल बीच जारी युद्ध ३१औँ दिनमा प्रवेश गर्दा अवस्था झन् जटिल र तनावपूर्ण बनेको छ। पछिल्लो घटनाक्रममा इरानले दक्षिणी इजरायलस्थित एक केमिकल प्लान्टमा मिसाइल आक्रमण गरेको छ।
आक्रमण नियोत होवाव औद्योगिक क्षेत्र नजिकै भएको हो, जसका कारण प्लान्टमा भीषण आगलागी भएको छ। आगलागीपछि विषाक्त ग्यास चुहावटको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले सर्वसाधारणलाई घरभित्रै बस्न र झ्याल ढोका बन्द राख्न आग्रह गरेको छ। घटनामा एक व्यक्ति घाइते भएको जनाइएको छ।
उक्त क्षेत्र बियरशेवा बाट करिब ९ किलोमिटर टाढा पर्छ। प्लान्टमा तेल र प्राकृतिक ग्यासबाट प्लास्टिक तथा विभिन्न रसायन उत्पादन गरिने भएकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाइएको छ। प्रारम्भिक विवरणअनुसार ठूलो क्षति भने टरेको बताइएको छ र हालसम्म खतरनाक रसायन बाहिर नफैलिएको जनाइएको छ।
यसैबीच, इरानको सैन्य कमान्डले नयाँ चेतावनी जारी गर्दै अमेरिका र इजरायलका सैन्य तथा राजनीतिक अधिकारीहरूको निजी निवासलाई ‘वैध लक्ष्य’ बनाउने घोषणा गरेको छ। उक्त कदमलाई पश्चिम एसियामा दबाब सिर्जना गर्ने रणनीतिक सन्देशका रूपमा हेरिएको छ।
अर्कोतर्फ, दक्षिण लेबनान मा इजरायलले गरेको हवाई आक्रमणमा पाँचजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्। यस घटनाले क्षेत्रीय तनाव अझै बढाएको छ र अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गर्न थालेका छन्।
