रोहित र रिकलटनको उकृष्ट प्रदर्शनमा: मुम्बईको १४ वर्ष लामो पहिलो खेल हारको क्रम अन्त्य

 रोहित र रिकलटनको उकृष्ट प्रदर्शनमा: मुम्बईको १४ वर्ष लामो पहिलो खेल हारको क्रम अन्त्य

काठमाडौं । मुम्बईको मैदान वानखेडे स्टेडियममा भएको रोमाञ्चक खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।

मुम्बईले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२० रनको विशाल योगफल तयार पारेको थियो। कोलकाताका लागि कप्तान अजिंक्य रहाणेले ६७ र डेब्युटान्ट अंगक्रिश रघुवंशीले ५१ रनको योगदान दिएका थिए भने मुम्बईका शार्दुल ठाकुरले ३ विकेट लिएर कोलकाताको रन गतिलाई केही हदसम्म नियन्त्रणमा राखेका थिए।

२२१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा मुम्बईका ओपनरहरूले विष्फोटक सुरुवात गरे। रोहित शर्मा र रायन रिकलटन बीच पहिलो विकेटका लागि मात्र ७१ बलमा १४८ रनको साझेदारी भयो, जसले मुम्बईको जितको आधार तय गर्‍यो। रिकलटनले ४३ बलमा ८१ रन (८ छक्का र ४ चौका) बनाए भने रोहितले ३८ बलमा ७८ रन (६ छक्का र ६ चौका) को शानदार पारी खेले। रोहितले यसै खेल मार्फत विराट कोहलीको रेकर्ड तोड्दै कुनै पनि एक टोली विरुद्ध आइपिएल मा सबैभन्दा धेरै रन बनाउने खेलाडीको कीर्तिमान समेत आफ्नो नाममा गरे।

खेलको अन्तिममा केही विकेट गुमाएको मुम्बईलाई तिलक वर्मा र कप्तान हार्दिक पाण्ड्याले संयमित ब्याटिङ गर्दै जिततर्फ डोहोर्‍याए। मुम्बईले १९.१ ओभरमा ४ विकेट गुमाएर २२४ रन बनाउँदै ५ बल बाँकी छँदै लक्ष्य पूरा गर्‍यो। यो मुम्बईले आफ्नो घरेलु मैदानमा पछ्याएको अहिलेसम्मकै ठूलो लक्ष्य हो।

जितसँगै मुम्बईले सन् २०१२ देखि हरेक सिजनको पहिलो खेल हार्दै आएको १४ वर्ष लामो ‘जिक्स’ लाई पनि अन्ततः तोड्न सफल भएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *