एसईई नतिजा १ महिनाभित्रै सार्वजनिक गर्न बोर्डलाई निर्देशन
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अब १ महिनाभित्र सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्ड लाई निर्देशन दिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह सँग परामर्शपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो। निर्देशनअनुसार बोर्डले परीक्षा केन्द्रबाटै उत्तरपुस्तिका परीक्षण गर्ने नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ, जसले नतिजा प्रकाशन प्रक्रिया छिटो बनाउने अपेक्षा गरिएको छ।
सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेल ले विद्यार्थीलाई लामो समयसम्म नतिजा कुर्नु पर्दा हुने मानसिक तनाव कम गर्न यस्तो कदम चालिएको बताएका छन।
उनका अनुसार प्रविधिको विकाससँगै अब नतिजा सार्वजनिक गर्न महिनौँ कुर्नुपर्ने आवश्यकता नरहेको उल्लेख गरे। “विद्यार्थीले तीन महिनासम्म कुर्नु पर्ने अवस्था अन्त्य गर्नुपर्छ, एक महिनाभित्र मात्र होइन, अझ चाँडो नतिजा दिन सकिन्छ,” मन्त्री पोखरेलले जनाएका छन।
७७ वटै जिल्लाका शिक्षा एकाइबाट समेत एक महिनाभित्र नतिजा निकाल्न सकिने सुझाव आएको मन्त्रालयले जनाएको छ। साथै, डाटा इन्ट्री र पुनर्योग सम्बन्धी काम पनि परीक्षा केन्द्रबाटै गर्ने विषयमा छलफल भइरहेको छ।
सरकारले एसईईपछि सञ्चालन हुने ब्रिज कोर्सजस्ता तयारी कक्षामा समेत रोक लगाएको छ। विद्यार्थीलाई आफ्नै रुचिअनुसार खेलकुद, संगीत लगायतका सीप सिक्न प्रोत्साहन गरिने नीति लिइएको मन्त्री पोखरेलले बताए।
यसैबीच, आगामी शैक्षिक सत्रदेखि एसईई परीक्षा संघ, प्रदेश वा स्थानीय तहमध्ये कसले सञ्चालन गर्ने भन्ने विषयमा पनि बहस सुरु भएको छ। संविधानअनुसार कक्षा १२ सम्मको शिक्षा स्थानीय तहको अधिकार क्षेत्रमा पर्ने भए पनि प्रदेशमार्फत सञ्चालन गर्दा उपयुक्त हुने सुझावहरू समेत आएको मन्त्रालयले जनाएको छ।
