बादलप्रति एमाले नेता खिमलाल भट्टराईको कटाक्ष

 बादलप्रति एमाले नेता खिमलाल भट्टराईको कटाक्ष

खिमलाल भट्टराई ले रामबहादुर थापा बादल को अभिव्यक्तिप्रति कडा असन्तुष्टि जनाएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र आन्तरिक बहस तीव्र भएको छ।

भट्टराईले सामाजिक सञ्जालमार्फत चैत २५ गते पोखरामा आयोजित जिल्ला कमिटीको भेलामा बादलले प्रयोग गरेको भाषा, शैली र दृष्टिकोण पार्टीको नीति र परम्पराविपरीत रहेको टिप्पणी गरेका छन्।

उनले ‘कब्जा, आक्रमण, दुश्मन’ जस्ता शब्दावली एमालेको विचारसँग मेल नखाने स्पष्ट पार्दै पार्टीले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा आधारित शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीति गर्ने बताएका छन्।

उक्त भेलामा विष्णुप्रसाद पौडेल प्रति कटाक्ष गर्दै बादलले पार्टीभित्रैबाट एमालेविरुद्ध गतिविधि भइरहेको आरोप लगाएका थिए। यसप्रति प्रतिक्रिया दिँदै भट्टराईले युद्धकालीन शैलीको भाषा वर्तमान एमालेको नीति हुन नसक्ने उल्लेख गरेका छन्।

भट्टराईले बादलले पार्टीको वर्तमान अवस्था र कार्यकर्ता परिचालनको तरिका नबुझेको आरोप लगाउँदै नेतृत्व शैलीमा गम्भीर प्रश्न उठाएका छन्। उनले शीर्ष नेतृत्वलाई समेत ध्यानाकर्षण गराउँदै पार्टीको वर्तमान जटिल अवस्थामा सही मूल्यांकन आवश्यक रहेको बताएका छन्।

यसैबीच, एमालेभित्र बादललाई कार्यवाहक अध्यक्ष तथा संसदीय दलको नेता बनाउने निर्णयदेखि नै विवाद बढ्दै गएको छ। भट्टराईको पछिल्लो अभिव्यक्तिपछि पार्टीभित्र नेतृत्व शैली र भावी कार्यदिशाबारे बहस अझ तीव्र हुने संकेत देखिएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *