युवापलायन रोक्न पौडेलको आग्रह, स्वदेशमै अवसर सिर्जना गर्न जोड
काठमाडौं । रामचन्द्र पौडेल ले संघीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्दै, नयाँ जनादेशपछि अबको प्राथमिकता सुशासन, आर्थिक सुधार र जनताको अपेक्षा सम्बोधनमा केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो।
सम्बोधनको केन्द्रबिन्दु युवापलायन रह्यो। पछिल्लो समय ठूलो संख्यामा युवा विदेशिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपतिले स्वदेशमै अवसर सिर्जना गर्नु आजको सबैभन्दा ठूलो चुनौती भएको उल्लेख गर्नुभयो। “गाउँमै बसौँ, केही गरौँ भन्ने वातावरण बनाउनु आवश्यक छ,” उहाँको सन्देश थियो।
शिक्षा प्रणालीलाई श्रम बजारसँग जोड्न नसक्दा समस्या बढिरहेको भन्दै उहाँले व्यवहारिक र सीपमूलक शिक्षामा जोड दिनुपर्ने धारणा राख्नुभयो। दक्ष जनशक्ति उत्पादन बिना आर्थिक विकास सम्भव नहुने स्पष्ट पार्दै युवालाई उत्पादनशील क्षेत्रमा जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
राष्ट्रपतिले नकारात्मक सोच तोड्न पनि सरकारलाई आग्रह गर्नुभयो। “देशमा केही हुँदैन” भन्ने मनोवृत्ति हटाउन ठोस नतिजा दिनुपर्नेमा उहाँको जोड थियो। श्रमको सम्मान र उचित प्रतिफल सुनिश्चित गर्न सके मात्रै युवामा आशा जगाउन सकिने उहाँले बताउनुभयो।
संविधान कार्यान्वयनका उपलब्धि उल्लेख गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र क्रमशः संस्थागत हुँदै गएको बताउनुभयो। तर, जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न अझै धेरै बाँकी रहेको स्वीकार गर्दै सबै निकायलाई परिणाममुखी हुन आग्रह गर्नुभयो।
राजनीतिक दलहरूबीचको असहमति र द्वन्द्वले विकासमा अवरोध सिर्जना गर्ने भन्दै उहाँले एकता र सहकार्यको आवश्यकता औँल्याउनुभयो। राष्ट्रिय हितलाई केन्द्रमा राख्दै साझा लक्ष्यतर्फ अघि बढ्न सबैलाई आह्वान गर्नुभयो।
