२५ वर्षीया रुबीकुमारी उपसभामुखमा ऐतिहासिक जीत
काठमाडौं । प्रतिनिधि सभाले आज नयाँ र युवा नेतृत्व प्राप्त गरेको छ। शुक्रबार भएको निर्वाचनमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर भारी बहुमतका साथ उपसभामुख पदमा निर्वाचित भएकी छन। कुल २५७ सांसद उपस्थित रहेको बैठकमा ठाकुरको पक्षमा २२९ मत खसेको थियो, जुन सदनको झन्डै दुई-तिहाइभन्दा बढीको समर्थन हो।
उनलाई आफ्नै दल श्रम संस्कृतिसहित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस र नेकपाले मतदान गरेका थिए। रुबीकुमारीलाई उपसभामुख बनाउने पक्षमा २२९ जनाले मतदान गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने प्रस्तावको विपक्षमा मतदान गरेको थियो।
ठाकुर निर्वाचित हुनुअघि राप्रपाकी उम्मेदवार सरस्वती लामालाई उपसभामुख बनाउने प्रस्ताव सदनमा पेस गरिएको थियो। तर, उक्त प्रस्ताव बहुमतले अस्वीकृत भयो। लामाको पक्षमा केवल ५ मत (राप्रपाका सांसदहरू) मात्र खस्यो भने विपक्षमा २१५ मत परेको थियो। ३७ जना सांसदले सो प्रस्तावमा तटस्थ बस्ने निर्णय गरेका थिए। राप्रपाको एकल प्रयास संसद्को गणितीय शक्तिसामु असफल सावित भएको छ।
निर्वाचनमा नेकपा एमालेको भूमिका भने निकै फरक देखियो। एमालेका सांसदहरू मतदान प्रक्रियामा सहभागी भए पनि उनीहरूले कसैको पक्ष वा विपक्षमा मत दिएनन्। एमाले तटस्थ बस्दा २२ जना सांसदले ‘मत दिन्न’ भन्ने पक्षमा मतदान गरेका थिए। सत्ता गठबन्धनको प्रमुख हिस्सा भएर पनि उपसभामुख चयनमा एमालेले अपनाएको यो मौनतालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । २५ वर्षीया रुवीकुमारी ठाकुरको विजयसँगै नेपालले सम्भवतः इतिहासकै सबैभन्दा कम उमेरको उपसभामुख पाएको छ। इन्जिनियरिङ पृष्ठभूमिकी ठाकुरले अब संसद्को गरिमामय ओहोदा सम्हाल्नेछिन्।
