चन्द्रमा परिक्रमा गरी फर्किए चार अन्तरिक्षयात्री, प्रशान्त महासागरमा सुरक्षित अवतरण
नासाको महत्वाकांक्षी आर्टेमिस–२ मिशन अन्तर्गत चन्द्रमाको परिक्रमा गरेका चार अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वी फर्किएका छन्।
उनीहरूलाई बोकेको ‘ओरायन’ अन्तरिक्षयान प्रशान्त महासागरमा सुरक्षित रूपमा अवतरण (स्प्ल्यासडाउन) भएको बिबिसीले जनाएको छ।
नेपाली समयअनुसार आज बिहान करिब ५:४५ बजे समुद्रमा अवतरण गरेको हो। कमाण्डर रिड वाइजम्यानले सबै सदस्य पूर्ण रूपमा सुरक्षित रहेको पुष्टि गरेका छन्। ‘केही शानदार यात्रा रह्यो। हामी स्थिर अवस्थामा छौं र चारै जना सदस्य पूर्ण स्वस्थ छन्,’ उनले भने।
यो मिशन नौ दिनभन्दा बढी समयसम्म चलेको थियो।
यस अवधिमा अन्तरिक्ष यात्रीहरूले पृथ्वीबाट करिब ४ लाख ६ हजार ७७१ किलोमिटर टाढासम्म यात्रा गरे। जुन मानव इतिहासकै सबैभन्दा टाढाको दूरी हो। उनीहरूले चन्द्रमाको पछाडिबाट परिक्रमा गर्दै पूर्ण सूर्यग्रहणसमेत अवलोकन गरेका थिए।
मिशनका क्रममा चन्द्रमाको पछाडि पुगेपछि करिब ४० मिनेटसम्म नासासँग सम्पर्क विच्छेद भएको थियो, जुन पूर्वानुमानअनुसार नै भएको थियो। पुनः सम्पर्क स्थापित भएपछि मिशन विशेषज्ञ क्रिस्टिना कोचले भनेकी थिइन्, ‘पृथ्वीबाट फेरि आवाज सुन्न पाउँदा अत्यन्तै राम्रो लाग्यो।’
पाइलट विक्टर ग्लोभरले अन्तरिक्षबाट देखिएको दृश्यबारे प्रतिक्रिया दिँदै भने, ‘हामीले जे देख्यौं, त्यसलाई वर्णन गर्न शब्द नै छैन।’ कमाण्डर वाइजम्यानले पनि अहिलेसम्म कुनै मानवले नदेखेका दृश्य देखिएको बताएका थिए।
नासाले यस अवतरणलाई टेक्स्टबुक ल्याण्डिङको संज्ञा दिएको छ। प्रारम्भिक स्वास्थ्य परीक्षणमा चारै जना अन्तरिक्ष यात्री पूर्ण रूपमा फिट रहेको पुष्टि गरिएको छ।
