गर्मी मौसममा बढि देखिने स्वास्थ्य समस्या र यसबाट बच्ने उपयुक्त उपाय

गर्मी मौसममा देखा पर्ने समस्या के के हुन ?
यो मौसममा धेरै एलर्जीको समस्या देखिन्छ। साथै तापक्रम बढ्दै जाँदा भिन्न किसिमका सरुवा रोग, हेपाटाइटिस रोग, झाडापखाला बढ्दै जान्छ। तापक्रम बढेसँगै लामखुट्टे पनि बढ्दै जान्छ र लामखुट्टेबाट सर्ने रोग जस्तो डेंगु, हात्तीपाइले लगायतका रोगहरू लाग्छ सक्छन्। दूषित पानी तथा बासी सडेगलेका खाना खाँदा टाइफाइड, हेपाटाइटिस ‘ई’ र ‘ए’ झाडापखाला, हैजा र आउँ जस्ता रोग लाग्छन्। यो मौसममा झिंगा भन्केका, राम्रो सफाइ नभएको ठाउँका खानाले र आफ्नो पनि शरीर वरपरको वातावरणको राम्रो सफाइ नगर्दा यस्ता रोग सर्ने गरेको पाइन्छ। साथै यो मौसममा रुघा लाग्ने, खोकी लाग्ने, हाछ्यु लाग्ने, छालामा डाबरहरू बस्ने हुनसक्छ। तर कतिपयमा एलर्जी भएर दमको समेत हुने पनि हुनसक्छ।
यस्ता समस्याले बालबालिकामा कस्तो असर गर्छ ?
मौसमी फ्लुहरू एकबाट अर्कोमा सर्दै जाने रोग हुन्। यो आफ्नो कारणले हुने हो। आफूले स्वास्थ्य सफा गरेन भने र सङ्क्रमित व्यक्तिको संसर्गमा पर्यो भने एकबाट अर्कोमा सर्दै जाने हुन्छ। सरसफाइमा लापरबाहीका कारणले पनि रुघा झाडापखालाजस्ता रोग लाग्ने गरेको पाइन्छ। जस्तो हात राम्ररी नधुँदा, ट्वाइलेट सफा नहुँदा पनि यस्तो हुन्छ। त्यसैले, अभिभावकले सरसफाइमा विशेष ध्यान दिनुपर्छ।
सङ्क्रमित रोगबाट कसरी बच्ने त ?
यो मौसममा लाग्ने संक्रामक रोगबाट बच्न विभिन्न उपाय हुनसक्छन्। जसलाई यसरी उल्लेख गर्न सकिन्छ।
- दूषित पानीको सेवन नगर्ने : गर्मी मौसममा धेरै ठाउँको पानी शुद्ध हुँदैन। हामीले पानीलाई राम्ररी उमालेर मात्र पिउनुपर्छ। साथै राम्ररी फिल्टर गरेर सफा र किटाणुरहित बनाएर पनि खान सकिन्छ।
- साबुन पानीले हात धुने : हामीले जहिले पनि समय समयमा हात धोइरहनु पर्दछ। जस्तो खानाखानु अघि साबुन पानीले सफासँग मिचीमिची अनिवार्य रूपमा हात धुनुपर्छ। शौचालय वा बाहिर कतै सार्वजनिक स्थलमा गएर आएपछि पनि राम्ररी हात गोडा धुने गर्नुपर्छ।
- बाहिरी खाना नखाने : सकेसम्म बाहिरका खाना कम खानुपर्छ। यदि बाहिर खानै परे भरपर्दो ठाउँमा मात्र खाने। सडे गलेको तथा बासी खाने कुरा नखानु नै एउटा उपचार हो। जसले गर्दा सङ्क्रमित रोगबाट बच्न सकिन्छ।
- व्यक्तिगत सफाइमा ध्यान दिने : सबै भन्दा पहिलो कुरा त हामी आफैले आफ्नो सरसफाइमा ध्यान दिनु जरुरी हुन्छ। शारीरिक व्यायाममा ध्यान दिने, खानपानमा ध्यान दिने गर्नुपर्छ। साथै घरवरिपरिको वातावरण पनि सफा राख्नुपर्छ।
- लामखुट्टेको टोकाइबाट बच्ने
झुल लगाएर सुत्ने, पूरा बाहुलायुक्त लुगा लगाउने झ्याल ढोकामा जालीको प्रयोग गर्ने, कोठामा कपुर जलाएर केही मिनेट सबै झ्याल ढोका बन्द गर्ने। यसो गर्दा घरभित्र पसेको लामखुट्टे मर्छ। घरको झ्याल ढोकामा तुलसीको बोट रोप्नाले पनि लामखुट्टेको प्रकोप कम हुन्छ ।
साथै मौसमी रोगबाट बच्न खानेकुरामा विशेष ध्यान दिनुपर्छ। तरकारी फलफूलहरू राम्रोसँग सफा गरेर, पानीलाई उमालेर वा फिल्टर गरेर खानुपर्छ। हामीले दैनिक प्रयोग गर्ने भाँडाकुडा पनि दैनिक रूपमा नै सफा हुनु जरुरी छ। साथै लामो समय आफूलाई समस्या भइराख्यो भने तुरुन्त चिकित्सकलाई भेटेर उपयुक्त सल्लाह लिनु जरुरी हुन्छ।
विभिन्न सामाजिक सञ्जालबाट साभार साभार गरिएको