हिमा स्मृति कोषद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, आठसय भन्दा बढी लाभान्वित

इस्मा, गुल्मीको इस्मा गाउँपालिका वडा नं. ६ अमरपुरमा बिशेषज्ञ डाक्टरहरुसहित सञ्चालन गरिएको बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । दुइ दिनसम्म सञ्चालन भएको शिविरमा आठ सय भन्दा बढी सेवाग्राहीले सेवा लिएका छन । संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतमको नेतृत्वमा स्थापना भएको हिमा स्मृति कोषको आयोजनामा इस्माको अमरपुर स्वास्थ्य चौकीमा बिहीबार र शुक्रबार गरी दुइ दिनसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शुक्रबार सम्पन्न शिविरमा हाडजोर्नी, मुटु, मृगौला र स्त्रीरोग सम्बन्धि स्वास्थ्य परिक्षण गर्नुका साथै बिरामीहरुलाई आवश्यक औषधि समेत निःशुल्क उपलब्ध गराईएको थियो ।
उपचारका लागि शहरका अस्पतालसम्म पुग्न नसक्ने गरीब, अशक्त, अपाङ्ग, महिला तथा बृद्धबृद्धाहरुलाई लक्षित गरेर गाउँमै सेवा दिनका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव एवं हिमा गौतम स्मृति कोषका सस्थापक कुलचन्द्र गौतमले बताउनुभयो । गौतमले आफु त्यही गाउँमा जन्मेको, हुर्केबढेको र गाउँप्रति धेरै माया भएको भन्दै आफ्नो जीवनमा जेजति सफलता हासिल भयो त्यसको ठूलो श्रेय त्यही गाउँको आर्शिबाद भएको बताउनुभयो ।
उहाँहरुले बुबा ओमप्रसाद गौतमको नामबाट शिक्षा र आमा हिमा गौतमको नामबाट स्वास्थ्य क्षेत्रमा गाउँमा उदाहरणीय काम गर्दै आउनु भएको छ । हिमा गौतम स्मृति कोषका अध्यक्ष नारायण पराजुलीले लामो समयदेखि गाउँको स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्दै आएकोले यसपटक पनि स्वास्थ्य शिविरलाई निरन्तरता दिएको बताउनुभयो ।
शिविरमा डा.प्रकाश पौडेलको संयोजनमा मेडिसिटी अस्पतालका बरिष्ठ मिर्गौला रोग बिशेषज्ञ डा.ऋषीकुमार काफ्ले, डा.प्रकाश पौडेल, डा. समीरचन्द्र गौतम, वात्साल्य सेन्टरमा कार्यरत बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा. प्रतिज्ञा गौतम, रेडियोलोजिष्ट डा. रेशम घर्ती र मेडिकल अधिकृतहरु सहितको टोलीले बिरामीहरुलाई सेवा प्रदान गर्नुभएको थियो ।
गौतम परिवारले आफ्ना स्वर्गीय बुबा र आमाको नामबाट बिद्यार्थीलाई शैक्षिक सामग्री, पुरस्कार, बिद्यालयमा संरचना निर्माण, दिवाखाजा लगायतका कार्यक्रममा सहयोग गर्दै आएको छ । त्यसका अतिरिक्त गौतम परिवारबाट अमरपुरको स्वास्थ्यचौकी निर्माणका लागि निःशुल्क रुपमा जग्गा प्रदान गर्नुका साथै शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण र सामाजिक विकासको क्षेत्रमा उल्लेख्य काम गरिरहेको छ ।
गौतम परिवारद्वारा चैत २८ र २९ गते इस्माको अमरपुरमा सञ्चालन गरिएको चौथो स्वास्थ्या शिविर हो ।