को हुन नयाँ गभर्नर डा. विश्व पौडेल, अर्थतन्त्र र राजनीतिक यात्रा कस्तो छ

काठमाण्डौ ।
नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर अर्थशास्त्री डा. विश्व पौडेल नियुक्त हुनुभएको छ । नयाँ गभर्नरका रुपमा धेरैको चर्चा परिचर्चा भएपनि डा. पौडेल गभर्नरका रुपमा नियुक्त हुनुभएको हो । उहाँ पहिले गभर्नर सिफारिस समितिको सदस्य हुनुहुन्थ्यो । उहाँ आफै नियुक्त हुने पक्का भएपछि सिफारिस समितिबाट राजिनामा दिनुभएको थियो । पौडेल राजनीतिक रुपमा नेपाली कांग्रेस निकट मानिनुहुन्छ ।
यसअघि उहाँ डा. पौडेल चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट गत ०७९ को चुनावमा नेपाली कांग्रेसको उम्मेवार बन्नु भएको थियो । डा. पौडेल चुनावमा रास्वपाका नेता हरि ढकालसँग पराजित बन्नु भएको थियो ।
यसैगरी यस भन्दा पहिले देउवा प्रधानमन्त्री हुँदा उहाँ २०७८ साल साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त हुनुभएको थियो । पौडेलको देउवा पत्नी आरजु राणासँग व्यक्तिगत रूपमा समेत राम्रो सम्बन्ध भएको बताइन्छ ।
पौडेल नेपालको आर्थिक इतिहास बारे जानकार मानिन्छन् । आर्थिक क्षेत्रसँग जानकारहरु पौडेलले नेपालको आर्थिक इतिहासबारे राम्रो जानकार भएको हुँदा माटो सुहाउँदो नीति लिन सक्ने बताउँछन् ।
डा.पौडेलले अमेरिकाको प्रतिष्ठित युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ । त्यसअघि उहाँले अमेरिकामै अर्थशास्त्रमा स्नातकोत्तर तहको अध्ययन गर्नुभएको थियो ।
उहाँले चीनको शाङ्हाईस्थित एक विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तहको अध्ययन समेत गर्नुभएको छ ।
डा. पौडेल चीन र अमेरिकाको अर्थतन्त्र, समाज र इतिहासका बारेमा समेत जानकार हुनुहुन्छ ।
२०१२ देखि २०१३ सम्म सानिमा बैंकको डिरेक्टरको रूपमा समेत काम गरेको अनुभव डा पौडेलसंग छ । त्यसपछि विश्व बैंकको कन्सल्ट्यान्ट, अन्तर्राष्ट्रिय श्रम संगठनको नेपालस्थित कार्यालयमा र मिलेनियम च्यालेन्ज कर्पोरेशनको नेपालस्थित कार्यालयमा पनि अर्थशास्त्रीको रूपमा कार्य गरिसक्नुभएको छ ।
पौडेलले सेयर बजारलाई पूँजी परिचालन गर्ने माध्यमको रूपमा आफ्नो विचार व्यक्त गर्दै आउनुभएको छ ।
यसले अब सेयर बजारको ग्राफ माथी उठ्ने विश्वास लिइएको छ । उहाँ गभर्नर बन्ने पक्का भएसंगै मंगलवारकै बजारमा केही सुधारको संकेत देखिएको छ ।