सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै

gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejg . ;+3Lo ;+;bsf] a}7s kmfu’g @! ut] cfXjfg ul/Psf] 5 . tl:a/ M /Tg >]i7, /f;; .
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजे बस्ने कार्यसूची छ । मङ्गलबार प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो ।
आजको बैठकका लागि सङ्घीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने कार्यसूची तय भएको छ ।
यसैगरी, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ को आर्थिक सर्वेक्षण पेस गर्नुहुनेछ । सम्भावित कार्यसूची अनुसार, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि दफावार छलफल गरी आजै पारित गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ । यसैगरी, प्रतिनिधिसभाको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्नेछन् ।
युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयले जानकारी दिए । यद्यपि विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग्दै आज पनि सदन अवरोध गर्ने तयारी गरेकोले बैठक सुचारु हुनेमा आशंका कायमै छ ।
त्यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्दै छ । राष्ट्रियसभामा पनि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ को आर्थिक सर्वेक्षण गर्ने सम्भावित कार्यसूची छ ।
यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।