भूमिहीन कृष्ण बहादुरको जीवन साना किसानले बदल्यो

 भूमिहीन कृष्ण बहादुरको जीवन साना किसानले बदल्यो

एक सिजनमै १० लाख आम्दानी, आफ्नै घर–जग्गा किन्ने सपना पूरा

धादिङ, कहिलेकाहीँ जीवन बदलिन ठूलो अवसर होइन, सानो सहारा नै पर्याप्त हुन्छ। धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–७, चरौँदी निवासी कृष्ण बहादुर सुनार त्यसकै जीवित उदाहरण बन्नुभएको छ।

कहिल्यै आफ्नै जमिन नहुने, दैनिक गुजारा चलाउनै संघर्ष गर्नुपर्ने उहाँ आज सफल कृषकका रूपमा चिनिनुभएको छ।

केही वर्षअघिसम्म कृष्ण बहादुर भूमिहीन हुनुहुन्थ्यो। अरूको जग्गा भाडामा लिएर काम गर्नु र दैनिक ज्यालादारीमै जीवन धान्नु उहाँको बाध्यता थियो। स्थायी आम्दानीको स्रोत नहुँदा परिवार चलाउन कठिन थियो।

जब उहाँ धुषा साना किसान कृषि सहकारी संस्था लि। बेनिघाट रोराङ–७, चरौँदी का सदस्य बन्नुभयो तब संस्थामार्फत बचत, सहुलियतपूर्ण ऋण र प्राविधिक परामर्श पाउनु भयो । जसले उहाँको जीवनको परिभाषा नै बदलिदियो ।

संस्थाबाट प्राप्त ऋण र प्राविधिक सहयोगको सदुपयोग गर्दै कृष्ण बहादुरले व्यवसायिक रूपमा काँक्रो खेती सुरु गर्नुभयो। आधुनिक प्रविधि, समयमै मलजल, सिँचाइ र बजार व्यवस्थापनका कारण उत्पादन उल्लेख्य भयो।

उहाँ एक सिजनमै करिब १० लाख रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको छ। स्थानीय बजारसँगै काठमाडौँसम्म उत्पादन पठाउने व्यवस्था भएपछि उत्पादनको बजारीकरणमा समेत कुनै समस्या नरहेको उहाँले बताउनुभयो ।

“पहिले दिनदिनै कमाइको चिन्ता हुन्थ्यो। अहिले आफ्नै खेती छ, आफ्नै आम्दानी छ। परिवारलाई राम्रो शिक्षा र जीवन दिन सकेको छु,” — कृष्ण बहादुर सुनारले खुसीसाथ आफ्नो सफलता सुनाउनुभयो ।

काँक्रो खेतीबाट भएको आम्दानीले उहाँले अहिले आफ्नै घर–जग्गा किन्न सफल हुनुभएको छ। भूमिहीन अवस्थाबाट घरधनी बन्ने उहाँको यात्रा गाउँका अन्य युवाका लागि प्रेरणाको स्रोत बनेको छ।

धुषा साना किसान कृषि सहकारी संस्था लि। का पदाधिकारीहरूका अनुसार संस्थाले सदस्यलाई वित्तीय पहुँच मात्र नभई सीप विकास तालिम, कृषि प्रविधि र बजार व्यवस्थापनमा पनि सहयोग गर्दै आएको छ।

भूमिहीन अवस्थाबाट एक सिजनमै १० लाख आम्दानी गर्ने किसानसम्मको कृष्ण बहादुरको यात्रा साना किसान सहकारी अभियानको प्रभावकारी नमूना बनेको छ। उहाँको कथा केवल व्यक्तिगत सफलता होइन, सामूहिक सहकार्य र वित्तीय समावेशीकरणको उदाहरण पनि हो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *