वित्तीय संघीयतामा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन विषयक कार्यक्रम महाभारत गाउँपालिकामा सम्पन्न
जेष्ठ १७ काठमाण्डौ । काभ्रेको महाभारत गाउँपालिकामा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरुङ र पालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुबीच एक दिने छलफल कार्यक्रम सम्पन्न भएको छ ।
पालिकाको सभाहलमा भएको कार्यक्रममा वित्तीय संघीयतामा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन लाई जनमुखी र प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने बारेमा अध्यक्ष गुरुङले जानकारी दिनुभएको थियो ।
उहाँले स्थानीयतहको स्रोत बढाउन आवश्यक कार्यका बारेमा समेत जानकारी गराई कार्यसम्पादनलाई प्रभावकारी रुपमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारेमा समेत जानकारी गराउनुभएको थियो । कार्यवाहक अध्यक्ष गुरुङले नीति, विधि र पद्धतीमा रहेर कार्य सम्पादन गर्दा पालिकालाई उत्कृष्ट बनाउन सकिने भन्दै महाभारतले आफ्नो कार्यसम्पादन मार्फत यो कुरालाई पुष्टि गरेकोमा धन्यवाद समेत ज्ञापन गर्नुभयो । उहाँले आयोगले विभिन्न सूचकका आधारमा गर्ने मूल्याकंनमा समेत महाभारत गाउँपालिका अगाडि रहेको भन्दै आगामी दिनमा समेत आफ्नो कार्यसम्पादनलाई सेवाग्राही मैत्री बनाउँदै सुशासन केन्द्रीत गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी उक्त कार्यक्रममा बोल्नुहुँदै पालिकाका अध्यक्ष कान्छालाल जिम्बाले न्यूनतम स्रोत साधानमा अधिकतम प्रतिफल प्रदान गर्न आफुहरु प्रतिवद्ध भएर कार्य सम्पादनमा लागेको बताउनुभयो । उहाँले संघीय सरकारले स्थानीयतहहरुलाई दिने विभिन्न अनुदानका विषयमा पुर्नविचार गर्न समेत अनुरोध गर्नुभयो । सम्भव छ हाम्रै पालामा भन्ने भनाईलाई उदृत गर्दै उहाँले सबैको साथ सहयोग र सहकार्यबाट पालिकाको सेवा प्रवाह र विकास निर्माणमा उत्कृष्टता हासिल गर्न सम्भव भएको भन्दै पालिकालाई प्रभावकारी रुपमा सञ्चालन गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले पालिकाका नविनतम कार्यहरुलाई अझै बढाव दिँदै हेर्न,सुन्न र भन्न लायक पालिकाका निर्माणमा निरन्तर लागिरहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
यसैगरी कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै पालिकाका उपाध्यक्ष सागर मोक्तानले सम्भावनाहरुलाई सार्थकतामा परिणतगर्दै आफुहरु चुनौतिलाई चिर्दै अगाडि बढेको बताउनुभयो । विकास निर्माणलाई गुणस्तरीय बनाउन पालिकाका जनप्रतिनिधिसंगै स्थानिय नागरिकको पनि भूमिका रहने भन्दै सबैको साथ सहयोग र सहर्यले पालिकालाई थप गतिशितल बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले महाभारत गाउँपालिकावासी सबैले गर्वगर्न लायक पालिका निर्माणमा सहयोग गर्न सबैको साथ सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
राम बहादुर तामाङले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, महाशाखा प्रमुखहरु, कर्मचारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
