मधेश प्रदेशमा “आईसीटी ज्ञान” डिजिटल साक्षरता कार्यक्रम सम्पन्न, २५० बढी सहभागी

आईसीटी फाउन्डेशन नेपाल र एनसेल फाउन्डेशनको संयुक्त पहलमा सञ्चालित “आईसीटी ज्ञान” डिजिटल साक्षरता अभियान अन्तर्गत मधेश प्रदेश, सर्लाहीको सोल्टीबजार स्थित श्री जनता माविमा सम्पन्न कार्यक्रममा करिब २५० जना सहभागी भएका थिए । “सबैका लागि प्रविधि, प्रविधिमा सबैको पहुँच” भन्ने मूल नारा लिएर आयोजना गरिएको यस कार्यक्रममा स्थानीय विद्यार्थी, शिक्षक, उद्यमी, महिला समूह र सरोकारवालाहरूलाई लक्षित गरी डिजिटल सीप, अनलाइन सुरक्षा, र आधुनिक प्रविधि प्रयोगका बारेमा जानकारी प्रदान गरियो ।
हालै सम्पन्न सत्रमा डिजिटल सेवा, सुरक्षा र प्रविधिसम्बन्धी विभिन्न महत्वपूर्ण विषयहरूमा छलफल गरिएको छ।
साथै, मेभोरियन सिस्टमका निर्देशक रेशम भण्डारी र आईएफएनका अध्यक्ष राजन लाम्सालले ‘डिजिटल सेवा’ र ‘उदीयमान प्रविधिहरू’ को विषयमा आफ्ना विचार तथा प्राविधिक दृष्टिकोण प्रस्तुत गरेका थिए।
कार्यक्रममा बागमती नगरपालिकाका शिक्षा शाखा प्रमुख ओम कार्की र श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकराज दाहालले विद्यालय र विद्यार्थीहरूको लागि सूचना प्रविधिसम्बन्धी ज्ञान र सीप विकास अपरिहार्य रहेकोमा जोड दिए।
शाखा प्रमुख कार्कीले बागमती नगरपालिकाले डिजिटल शिक्षा र सीपमा आधारित सिकाइलाई प्राथमिकता दिइरहेको र आगामी दिनमा यस्ता प्रविधिमैत्री कार्यक्रम तथा सहकार्यलाई अझ सशक्त बनाइने बताए।
कार्यक्रममा एनसेल मधेस प्रदेशबाट बिपिन भण्डारी, स्थानिय शिक्षकहरू, सहकारीमा आबद्ध व्यक्ति लगायत करीब २५० जना सहभागी रहेका थिए।
सो अवसरमा एनसेल मधेस प्रदेशबाट बिपिन भण्डारीले ग्रामीण क्षेत्रका नागरिकहरूले प्रविधिको उपयोगबाट रोजगार र अवसरहरू सिर्जना गर्न सक्ने कुरा औँल्याए।
कार्यक्रममा आईसिटी फाउण्डेसन नेपालका अध्यक्ष राजन लम्सालले सबै सहभागी र प्रायोजकलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अन्य सातै प्रदेशमा सोही अभियान जारी रहने जानकारी गराए। आईसीटी ज्ञान अभियानले ग्रामीण र दूरदराजका क्षेत्रका जनतालाई स्मार्ट प्रविधिसम्म पहुँच पुर्याएर डिजिटल विभाजन घटाउने उद्देश्यका साथ निरन्तर काम गर्दै जाने प्रतिबद्धता जनाएको छ।