रुपन्देही–३ उपनिर्वाचन : पुराना हस्ती र नयाँ पुस्ताबीच रोमाञ्चक प्रतिस्पर्धा (भिडियो सहित)
रूपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा आउँदो कार्तिक १७ गते उपनिर्वाचन हुँदैछ। निर्वाचनको मिति घोषणा भएसँगै दलहरू त्यसको तयारीमा जुटेका छन् सत्तासीन दल नेकपा एमालेले खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ। त्यस्तै अरु राजनीतिक दलहरू छलफलमा छन्। चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाबाट सागर ढकालको चर्चा चलिरहेको छ ।
ढकाल पछिल्लो निर्वाचनमा डडेलधुराबाट पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग स्वतन्त्र उम्मेदवार बनेका व्यक्ति हुन् । तर पराजित भएपछि केही समय विदेशिएका उनी केही महिनाअघि स्वदेश फर्किएका छन्
रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी प्रतिनिधिसभा उपनिर्वाचन–२०८२ को राजनीतिक तापक्रम तीव्र गतिमा बढ्दै गएको छ। लामो समयदेखि संसदीय राजनीतिमा पोख्त ठूला नेतादेखि सामाजिक सञ्जालमा चम्किएका नयाँ पुस्ताका अनुहारसम्मको प्रतिस्पर्धाले यहाँको चुनावी रंगमञ्चलाई विशेष बनाइदिएको छ। यो उपनिर्वाचन मात्र एक सिटका लागि नभई नेपाली राजनीतिमा पुरानो राजनीतिक अभ्यास र नयाँ राजनीतिक प्रयोगबीचको परीक्षणका रूपमा हेरिएको छ।
कांग्रेसको दाबी : खाँडको अनुभव र संगठनात्मक पकड
नेपाली कांग्रेसले पूर्व गृहमन्त्री तथा अनुभवी नेता बालकृष्ण खाँडलाई उम्मेदवार बनाउने तयारी गरेको चर्चा चलिरहेको छ। खाँडले लामो समयदेखिको संगठनात्मक पकड, स्थानीय स्तरमा विकासका एजेन्डा र पार्टीभित्रको प्रभावशाली भूमिका मार्फत मतदाता आकर्षित गर्ने कांग्रेसको योजना छ। तर, भ्रष्टाचारसँग जोडिएका पुराना विवादले खाँडको छवि कतै धमिल्याउने त होइन भन्ने चिन्ता पार्टीभित्रै पनि सुनिन थालेको छ।
त्यस्तै एमालेको रणनीति : युवा नेता भट्टराईलाई अगाडि
एमाले ले स्थायी समिति सदस्य खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने तयारी गरिरहेको चर्चा छ। भट्टराईलाई पार्टीले “स्वच्छ छवि, नीतिगत स्पष्टता र नेतृत्व क्षमतासहितको उम्मेदवार”का रूपमा प्रस्तुत गर्ने रणनीति बनाएको बुझिन्छ। अखिलको राजनीतिबाट पार्टि राजनीतिमा आएका भट्टराई युवा पुष्टाको बीचमा लोकप्रिय नेता हुन ।
नयाँ पुस्ताको उत्साह : रास्वपाबाट सागर ढकाल
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले चर्चित युवा अनुहार सागर ढकाललाई उम्मेदवार बनाउने सम्भावना प्रवल देखिएको छ। सामाजिक सञ्जालमा सक्रियता, तर्कशील भाषणशैली र नयाँ विचारका कारण युवापुस्तामाझ ढकालको उल्लेख्य लोकप्रियता छ। विश्लेषकहरू भन्छन्– “सागर ढकालले पुरानो राजनीतिक संरचनाप्रति असन्तुष्ट मतदातालाई उत्साहित गर्ने शक्ति राख्छन्, तर स्थानीय स्तरको संगठन र अनुभवको कमीले चुनौती पनि थप्नेछ।”
राप्रपाको खोजी : परम्परा र नयाँपनको सन्तुलन
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले पनि प्रज्वल बोहरा वा स्वाती थापामध्ये एक जनालाई उम्मेदवार बनाउने छलफल अघि बढाएको छ। राप्रपा परम्परागत राष्ट्रवाद र हिन्दुत्वको मुद्दामा टेकेर नयाँ पुस्तामा अपिल गर्न खोज्दैछ। तर, यसले मध्यम वर्ग र सहरी युवापुस्तामा कति प्रभाव पार्ला भन्ने प्रश्न अझै खुला छ।
एकीकृत समाजवादी : घनश्याम भुसाललाई अघि सार्दै
वाम राजनीतिका पुराना नेता घनश्याम भुसाललाई नेकपा ९एकीकृत समाजवादीले उम्मेदवार बनाउने तयारी गरिरहेको छ। भुसालको लामो राजनीतिक अनुभव, वामपन्थी विचारप्रति निष्ठा र स्थानीय जनतामाझको पहुँच पार्टीको बलियो आधार बन्ने विश्वास गरिएको छ। तर, पार्टीको हालको कमजोर संगठनात्मक संरचनाले मतदातामा कति असर पार्ला भन्ने प्रश्न काँकी नै छ ।
राजनीतिक विश्लेषकहरू “यो उपनिर्वाचन केवल उम्मेदवारको नामभन्दा धेरै फराकिलो अर्थ राख्छ – पुरानो राजनीतिक संरचनामा जनताको भरोसा अझै बलियो छ कि नयाँ अनुहार र वैकल्पिक शक्तिहरूले राजनीतिक बजारमा ठूला दललाई चुनौती दिन सक्छन् ।
मतदाताहरूबीच पनि उत्साह र आक्रोश दुवै देखिएको छ। कतिपय भन्छन्, “हरपटक ठूला दलका पुरानै अनुहार आए, विकास किन देखिएन ” अर्कोतर्फ केहीले “अनुभवी नेताले मात्रै ठूला योजनालाई अघि बढाउन सक्छन्” भन्ने तर्क गर्छन्।
रुपन्देही–३ मा हुने उपनिर्वाचनले केवल एक सांसद होइन, नेपाली राजनीतिको भविष्यतर्फको संकेत पनि दिनेछ
यद्यपि दलहरूले औपचारिक उम्मेदवार घोषणा गर्न केही समय लिँदैछन्, तर भित्री तयारी तीव्र छ। पुराना अनुहारको अनुभव र संरचना बलियो छ भने नयाँ पुस्ताको विचार, प्रस्तुतीकरण र सामाजिक सञ्जालको पकड राम्रो छ ।