अफ्ताब आलम छुटेपछि शरीरका खत बोकेर काठमाडौं आए गौरीशंकर

रौतह ।रौतहटको राजपुर फरहदवामा २०७४ चैत २७ गते भएको बम विस्फोट र त्यसपछि इँटाभट्टामा मानिसलाई जिउँदै जलाइएको घटनामा प्रमाण नभेटिएको भन्दै उच्च अदालत वीरगञ्ज इजलासले पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता अफ्ताब आलमलाई सफाइ दिएको छ । आलमलाई सफाइ दिएपछि भारतको बिहार सीतामढी निवासी ४३ वर्षीय गौरीशंकर राम चमार अहिले काठमाडौं आएका छन् ।
काठमाडौं आइपुगेका गौरीशंकर भन्छन्, “म आफैं घाइते भएको मान्छे हुँ । मेरो शरीरमा अझै खत छन्, दुख्छ । अदालतले प्रमाण छैन भन्छ, प्रमाण त हामी नै हौं । हाम्रो शरीर नै प्रमाण हो । हाम्रो शरीरको मासु जलेको छ, घाउहरू बाँकी छन् । मैले मेरो आँखाले सबै देखेको छु । मलाई बचाएर भारत पुर्याइएको थियो, डाक्टरहरूले निको पारे । फेरि नेपाल आएको छु, किनकि न्याय चाहिएको छ ।”
गौरीशंकरले उक्त विस्फोटको घटनाबारे विस्तारमा सुनाउँदै भने, “त्यो दिन विहानै हामीलाई भेला हुन भनेको थियो । केही मानिसले बम बनाइरहेका थिए । एक्कासी विस्फोट भयो । त्यसपछि धेरै मानिस घाइते भए । मलाई पनि गहिरो चोट लाग्यो । हामीलाई इँटाभट्टातिर पुर्याए । घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर जलाइयो । म भागेर बाँचेको हुँ । मेरो शरीरका खतहरू आज पनि देखिन्छन् ।”
उनले अगाडि भने, “अहिले अफताब आलम छुटेछन् भनेर सुनेपछि मलाई आत्तिनै आएको छ । मैले न्याय पाउनु पर्छ भन्ने लागेर काठमाडौं आएको हुँ । मैले प्रधानमन्त्री, गृह मन्त्रीलाई भेट्न चाहन्छु । न्याय बिना म फर्किन्न ।”
गौरीशंकरको शरीरमा अहिलेसम्म पनि घाउका दाग देखिन्छन् । उनी आफ्नो सर्ट उठाउँदै घाउ देखाउँदै भन्छन्, “हेर्नुस्, मेरो पेट, हात, खुट्टा सबैमा खत छन् । म बाँच्न पाएको खुसी त छ तर न्याय नपाउँदासम्म मेरो पीडा मेटिँदैन । अदालतले प्रमाण छैन भन्छ, हामी जिउँदो प्रमाण हौं । मेरो बोली र शरीरको खत नै प्रमाण हो ।”
उनका अनुसार उक्त घटनामा कैयौं मानिस मारिएका थिए र आफूसँग उनीहरूको नामसमेत रहेको बताउँछन् । उनले भने, “मसँग घाइते र मारिएका सबैको विवरण छ । मैले त्यहाँ देखेको सबै कुरा बताउन तयार छु । मलाई सुरक्षा दिनुपर्छ, म न्यायका लागि लड्न तयार छु ।”
गौरीशंकर हाल काठमाडौंमा विभिन्न मानवअधिकार संस्थाहरूसँग सम्पर्कमा रहेका छन् । उनी अफ्ताब आलमको सफाइविरुद्ध पुनरावेदनको माग गर्दै न्यायका लागि संघर्ष गर्ने बताइरहेका छन् ।