उपभोक्ता अदालतको आदेशविरुद्ध चिकित्सक संघको आन्दोलन : आकस्मिकबाहेकका सेवा बन्द, बिरामी मर्कामा

 उपभोक्ता अदालतको आदेशविरुद्ध चिकित्सक संघको आन्दोलन : आकस्मिकबाहेकका सेवा बन्द, बिरामी मर्कामा

काठमाडौँ ।  उपभोक्ता अदालतले चिकित्सकीय लापरबाहीसँग सम्बन्धित एक मुद्दामा दोषी ठहर गर्दै गरेको कारबाहीको निर्णयप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघले आज (सोमबार) देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ ।

संघले यसअघि असार १७ गतेदेखि सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्न आह्वान गरेको थियो । तर आजबाट आन्दोलनको स्वरुप कडा पार्दै आकस्मिकबाहेकका सेवा सम्पूर्ण रूपमा ठप्प पारेको छ । संघले उपभोक्ता अदालतको कारबाहीलाई ‘चिकित्सकहरूमाथि अन्यायपूर्ण दबाब र डर सिर्जना गर्ने’ कदमका रूपमा व्याख्या गरेको छ ।

आन्दोलनका कारण देशभरका अस्पतालहरूमा बिरामीहरू ठूलो समस्या भोग्न बाध्य भएका छन् । विशेष गरी ओपीडी (बाह्य बिरामी विभाग) बन्द हुँदा टाढाटाढाबाट आएका बिरामीहरू बढी प्रभावित भएका छन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि ओपीडी बन्द भएपछि सेवाग्राहीहरू अन्योलमा परेका छन् ।

धादिङबाट आएका रमेश घले भन्छन्, “आज रिपोर्ट देखाएर फर्किने सोच थियो, अब कहिलेसम्म पर्खिनुपर्छ भन्ने थाहा छैन ।” धेरै बिरामी खान र बस्ने ठाउँको व्यवस्था नभएर अलमलमा परेका छन् । कतिपय बिरामी तातोपानी, धनगढी, विराटनगर जस्ता दूरदराजका ठाउँबाट आइपुगेका थिए ।

नेपाल चिकित्सक संघका पदाधिकारीहरूले भने आन्दोलन कहिलेसम्म जारी राख्ने भन्नेबारे सल्लाह भइरहेकाले तत्काल टुंगो नभएको बताएका छन् । संघका महासचिव का  अनुसार “उपभोक्ता अदालतको आदेश चिकित्सक पेशाको स्वतन्त्रता र निष्पक्षतामा हस्तक्षेप भएको” भन्दै तत्काल निर्णय सच्याउन माग गरिएको छ ।

संघले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ:

“डाक्टरहरूलाई अपमान र डरको वातावरण सिर्जना गर्ने जुनसुकै कदमविरुद्ध हामी सशक्त रूपमा उभिन्छौँ । जबसम्म न्याय सुनिश्चित हुँदैन, हाम्रो आन्दोलन जारी रहनेछ ।”

उपभोक्ता अदालतको कारबाही र चिकित्सक संघको आन्दोलनले स्वास्थ्य क्षेत्रमा गम्भीर असर परेको छ । बिरामी र तिनका आफन्तहरू अन्योलमा परेका छन् भने कतिपयलाई आकस्मिक कक्षबाहेक अन्यत्र सेवा नपाउँदा वैकल्पिक उपचारको खोजीमा भौतारिनुपरेको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *