एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबिच आज एकीकरण हुँदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा राष्ट्रिय एकता अभियानबिच आज एकीकरणको घोषणा हुने भएको छ । गत शुक्रबार अभियानका संयोजक वामदेव गौतम र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच सहमति भएबमोजिम आज एकता घोषणा हुन लागेको हो ।
गौतमलाई नेकपा एकीकृत समाजवादीमा तेस्रो वरीयताको वरिष्ठ नेता दिने सहमति भएको छ । हाल एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल पहिलो वरीयता, सम्मानित नेता झलनाथ खनाल दोस्रो वरीयतामा रहेका छन् । गौतम खनालपछिको वरीयतामा हुनेछन् ।
पाँच वर्षअघि नेकपा विभाजन भएर एमाले र नेकपा माओवादी हुँदा कतै पनि नलागी नेकपा एकता अभियान थालेका नेता वामदेव गौतम अन्ततः माधव नेपाल नेतृत्वको समाजवादीमा समाहित हुन पुगेका हुन् ।
यस अगाडि नै गौतम नेकपा एकीकृत समाजवादी जान खोजे पनि त्यसवेला गौतमले मागेको पद एकीकृत समाजवादीले दिन आनाकानी गरेपछि एमालेमा जान छलफल चलाएका थिए ।
एमाले अध्यक्ष केपी ओलीले पनि एमालेमा आएपछि गौतमलाई उचित जिम्मेवारी दिने तर विधान महाधिवेशनले पद व्यवस्थापन गर्ने बताएका थिए ।