बजेट कार्यान्वयनसम्बन्धी अर्थ र स्वास्थ्य मन्त्रालयबीच छलफल, स्वास्थ्य मन्त्रालयद्वारा २१ सय जनशक्ति थप्ने प्रस्ताव

काठमाडौं, साउन १९
आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन सम्बन्धमा अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेको छ। अर्थ मन्त्रालयमा सम्पन्न छलफलमा बजेटमा विनियोजित कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन र प्राथमिकताका विषयमा विमर्श भएको थियो।
छलफलको क्रममा स्वास्थ्य मन्त्रालयले संघीय अस्पतालहरूमा विशिष्टकृत सेवा तथा सेवा विस्तारका लागि डाक्टर, नर्स लगायत २,१०० जनशक्ति थप गर्न प्रस्ताव गरेको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा सेवा विस्तार गर्न तथा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नयाँ जनशक्ति आवश्यक भएको स्पष्ट गर्नुभयो।
उप-प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न दक्ष डाक्टर र नर्सहरूको भूमिका अपरिहार्य रहेको बताउँदै, जनशक्ति व्यवस्थापनका सम्बन्धमा थप परामर्श गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
छलफलमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, बालबालिकालाई उपलब्ध गराइने निःशुल्क औषधी, भक्तपुरको दुवाकोटमा निर्माणाधीन वीर अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (DPR), जलन उपचार सेवा विस्तार लगायतका समसामयिक विषयमा पनि गहन छलफल भएको मन्त्रालयले जनाएको छ।