आज यी स्थानमा भारी वर्षाको सम्भावना

Rainy weather
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसम सामान्यतया बदली रहने जनाएका छन्।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव देखिएकाले वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको विभागले जनाएको छ।
महाशाखाका अनुसार सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थान र तराईका थोरै स्थानमा समेत वर्षा हुन सक्ने अनुमान गरिएको छ।
विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने चेतावनी दिइएको छ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा हावाहुरी समेत चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
सोमबार राति पनि देशभर साधारणतया बदली रहनेछ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने देखिएको छ भने बाँकी पहाडी तथा तराई भू–भागका थोरै स्थानमा वर्षा पर्न सक्ने अनुमान छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने भारी वर्षाको सम्भावना रहेको छ।
पछिल्लो २४ घण्टामा देशभर हल्कादेखि मध्यम वर्षा भएको विभागले जनाएको छ। यस अवधिमा लम्जुङको बेसीसहरमा ९०.२ मिलिमिटर, खुदी बजारमा ८८ मिलिमिटर, फलेनीमा ६७.४ मिलिमिटर, भुजुङमा ५०.२ मिलिमिटर, सिन्धुपाल्चोकको चन्दर्कुमा ६७ मिलिमिटर, काठमाडौंको बूढानीलकण्ठमा ४७.६ मिलिमिटर र कास्कीको चोम्रोङमा ४८.८ मिलिमिटर वर्षा रेकर्ड भएको छ।