नाडा अटो शो २०२५ भव्य समापन, १ लाख ६७ हजारभन्दा बढीले गरे अवलोकन (फोटो फिचर)

 नाडा अटो शो २०२५ भव्य समापन, १ लाख ६७ हजारभन्दा बढीले गरे अवलोकन (फोटो फिचर)

काठमाडौं । नाडा अटो शो २०२५ भृकुटीमण्डपमा भव्य रूपमा सम्पन्न भएको छ। नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) को आयोजनामा सम्पन्न यस प्रदर्शनीलाई विभिन्न सह–आयोजक र सह–प्रायोजक संस्थाहरूले साथ दिएका थिए।

२०८२ भदौ ३ गतेदेखि सुरु भएको अटो शोमा १ लाख ६७ हजार ८६५ भन्दा बढी अवलोकनकर्ता उपस्थित भई नयाँ प्रविधि र उत्पादनको अवलोकन गरेका आयोजकले जनाएको छ।

यसपटकको प्रदर्शनीमा विद्युतीय सवारीसाधनदेखि अत्याधुनिक मोटरसाइकल, स्कुटर, चारपाङ्ग्रे कार तथा कमर्सियल सवारीसाधनसम्मका मोडलहरू आकर्षण बने।

साथै, उड्ने गाडी (फ्लाइङ कार) ले पनि दर्शकको विशेष ध्यान तानेको थियो।

दर्शकको चाप र अवलोकन

आयोजकका अनुसार यस वर्षको अटो शोमा दैनिक हजारौँ दर्शकहरूको उपस्थिति रह्यो। युवा पुस्तादेखि व्यापारी, उद्योगी, सरकारी पदाधिकारीलगायत विभिन्न वर्गका व्यक्तिहरू मेलामा सहभागी भएका थिए।

प्रदर्शनीमा सहभागी कम्पनीहरूले आफ्ना नयाँ मोडल सार्वजनिक गर्नुका साथै छुट योजना, प्राविधिक जानकारी र उपभोक्तासँग प्रत्यक्ष संवादको अवसर पनि दिए।

उपभोक्ताहरूले विशेषगरी विद्युतीय गाडी र मोटरसाइकलप्रति ठूलो चासो देखाएको पाइयो।

नेपालमा बढ्दो इन्धन मूल्य र वातावरणीय चुनौतीलाई मध्यनजर गर्दै ईभी (EV) ले बजारमा ठूलो सम्भावना बोकेको स्पष्ट देखिएको आयोजकको भनाइ छ।

सहकार्य र साझेदारी

नाडा अटो शो २०२५ विभिन्न सहकार्य र सहप्रायोजनमार्फत सम्पन्न गरिएको थियो। शिखर इन्स्योरेन्स, क्याम्पा कोला, खल्ती, वर्ल्डलिंक, ऋत्विक नेपाल, हिमालयन सेफ्टी सोलुसन, किस्ट हस्पिटल, नेपाल लुब अइल लिमिटेड, मेगा मोटर्सलगायतका कम्पनीहरूले सक्रिय सहकार्य गरेका थिए। नेपाल लुब अइल लिमिटेडले प्रदर्शनी अवलोकनकर्तामध्ये १२ जनालाई १ वर्ष निःशुल्क लुब्रिकेन्ट सेवा उपलब्ध गराउने घोषणा पनि गरेको थियो।

प्रदर्शनीका मुख्य आकर्षण

यस वर्षको अटो शोमा करिब १६ भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्डका गाडी, मोटरसाइकल र विद्युतीय सवारीसाधन सार्वजनिक गरियो। एमजी, टाटा, बायडी, हुन्डाई, निसान, टोयोटा, प्युजो, होंडा, रेनो, फक्सवागन, फोर्डलगायतका कम्पनीहरूले आफ्ना नयाँ मोडल र इलेक्ट्रिक भेहिकल प्रदर्शन गरे।

यस्तै, नेपाली स्टार्टअप कम्पनीहरूले पनि सहभागिता जनाउँदै आफ्ना नवीनतम प्राविधिक आविष्कार, सफ्टवेयर, चार्जिङ समाधानलगायतका उत्पादन प्रदर्शन गरेका थिए।

नाडा पदाधिकारी र सरोकारवालाको भनाइ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करन चौधरीले अटो शो २०२५ लाई ऐतिहासिक र सफल भएको टिप्पणी गर्दै भने,
“यो प्रदर्शनीले उद्योगी–व्यवसायी, उपभोक्ता, आयातकर्ता, नीतिनिर्माता र सरोकारवालालाई एउटै प्लेटफर्ममा ल्याएको छ। यसले नेपालको अटो उद्योगलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।”

सरकारी निकायका पदाधिकारीहरूले पनि प्रदर्शनीमार्फत नेपालमा विद्युतीय सवारीसाधनप्रतिको चासो र माग तीव्र गतिमा बढिरहेको उल्लेख गर्दै सरकार नीति तथा पूर्वाधार विकासमा सहयोग गर्न तत्पर रहेको बताए।

नाडा अटो शो २०२५ ले नेपालमा विद्युतीय सवारीसाधन र हरित प्रविधिको सम्भावना थप प्रष्ट पारेको छ।

चार्जिङ पूर्वाधार विस्तार, वित्तीय संस्थाहरूको सहज कर्जा सुविधा र अन्तर्राष्ट्रिय कम्पनीहरूको आकर्षणसँगै आगामी दिनमा नेपालको अटोमोबाइल उद्योग अझ सबल बन्ने अपेक्षा गरिएको छ।

१ लाख ६७ हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता भएको यो प्रदर्शनीले अटो उद्योगसँगै नेपालको आर्थिक तथा औद्योगिक क्षेत्रलाई समेत बलियो बनाउने प्लेटफर्मको काम गरेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *