(FeNCAA) को सातौँ साधारण सभा सम्पन्न, डा. मधुसुधन पुडासैनीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

  (FeNCAA) को सातौँ साधारण सभा सम्पन्न, डा. मधुसुधन पुडासैनीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

ब्रिसबेन, अष्ट्रेलिया । फेडेरेसन अफ नेप्लिज कम्युनिटी एशोसिएसन अफ अष्ट्रेलिया (FeNCAA) को सातौँ साधारण सभा अष्ट्रेलियाको ब्रिसबेनमा सम्पन्न भएको छ।

साधारण सभाले डा. मधुसुधन पुडासैनीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष कपिल पाण्डे, महासचिव भोला गिरी, सचिव डा. प्रकाश पौडेल, कोषाध्यक्ष जीवन राना, सह–कोषाध्यक्ष केदार रिजाल, प्रवक्ता केशव शर्मा तथा सहायक प्रवक्ता सुरेन रेग्मी चयन भएका छन्।

त्यसैगरी विभिन्न राज्य संयोजक पनि निर्वाचित भएका छन्। साउथ अष्ट्रेलियाबाट पुष्कर कोइराला, अष्ट्रेलियन क्यापिटल टेरिटोरीबाट सुरज पौडेल, न्यू साउथ वेल्सबाट मुक्तिराम पोखरेल, तास्मानियाबाट कमल भण्डारी, भिक्टोरियाबाट कृष्णबहादुर महरा क्षेत्री तथा वेस्टर्न अष्ट्रेलियाबाट डिल्लीराम पराजुली निर्वाचित भएका हुन्।

निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन मण्डलका अध्यक्ष जोग लिम्बुले पद तथा गोपनियताको शपथ ग्रहण गराउँदै प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

सभामा वम योन्जनको अध्यक्षतामा अध्यक्षको प्रतिवेदन, महासचिव कपिल पाण्डेको प्रतिवेदन तथा कोषाध्यक्ष राजन कोइरालाले आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद तथा प्रतिनिधि सभाका सभामुख डिक मिल्टनले नेपाल–अष्ट्रेलिया सम्बन्ध ऐतिहासिक रूपमा सुमधुर रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

उनले अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले दुई देशबीचको सम्बन्ध विस्तारमा पुर्‍याएको योगदान महत्वपूर्ण रहेको भन्दै FeNCAA लगायतका संस्थाहरूसँग सहकार्य गर्न आफूहरू सधैं तयार रहेको बताए।

यसैगरी क्विन्सल्याण्ड सरकारकी बहुसांस्कृतिक मामिला मन्त्री फियोना सिम्पर्सनले फेन्काले बहुसांस्कृतिक मूल्य र संस्कृतिको संरक्षणका लागि गरेको योगदान सराहनीय रहेको बताउँदै सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

कार्यक्रममा सार्वजनिक तथा सांस्कृतिक मामिला छायाँ मन्त्री चियरस मुल्लेन, फेन्काका पूर्व अध्यक्ष डा. कृष्ण हमाल, NAQ का अध्यक्ष टिकाराम शर्मा, NRNA अष्ट्रेलियाका अध्यक्ष सन्तोष कुँवर लगायतले मन्तव्य राखेका थिए।

कार्यक्रमको सञ्चालन क्विन्सल्याण्डका राज्य संयोजक डा. इशा शर्माले गरेका थिए। कार्यक्रममा करिब १ सय सदस्य संस्थाका प्रतिनिधिहरुको भौतिक तथा भर्चुअल सहभागिता रहेको थियो।

साथै अष्ट्रेलियामा रहेका नेपाली समुदायका अगुवा, पत्रकार, समाजसेवी लगायतको पनि उपस्थिति थियो।

कार्यक्रमपछि नवनिर्वाचित अध्यक्ष डा. मधुसुधन पुडासैनीले विगतको अनुभव र सिकाइलाई आत्मसात् गर्दै संस्थालाई समयानुकूल अगाडि बढाउने प्रतिबद्धता जनाए। उनले संस्थाको समग्र मूल्यांकन गर्दै आगामी दुई वर्षका लागि कार्ययोजना समेत प्रस्तुत गरेका थिए।

डा. पुडासैनीले भविष्यको रणनीति निर्माणका क्रममा सबै सरोकारवाला निकायसँग सहकार्य गर्दै संस्थालाई अझ सबल र प्रभावकारी बनाउने संकल्प व्यक्त गरेका छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *