रोमाञ्चक संघर्ष जित्दै भारत सेमिफाइनलमा, वेस्टइन्डिज बाहिरियो

 रोमाञ्चक संघर्ष जित्दै भारत सेमिफाइनलमा, वेस्टइन्डिज बाहिरियो
काठमाडौं । भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । आइतबार राति भएको खेलमा वेस्टइन्डिजलाई पाँच विकेटले हराउँदै भारत समेफाइनलमा पुगेको हो । अब भारतले ५ मार्चमा मुंबईको वानखेड़े स्टेडियममा इंग्ल्यान्डसँग भिड्नेछ। कोलकाताको ईडन गार्डन्समा भएको खेलमा वेस्टइन्डिजले पहिले ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । रोस्टन चेजले ४० रन र जेसन होल्डरले अविजित ३७ रन बनाए । भारतका जसप्रीत बुमराहले २ विकेट लिएका थिए । वेस्टइन्डिजले अन्तिम ५ ओभरमा ७० रन जोड्दै कडा प्रतिद्वन्द्वीको रुपमा उभिएको थियो । १५ ओभरमा उनीहरूको स्कोर ४ विकेटमा १२५ रन थियो। रोवमन पावेल र जेसन होल्डरले पाँचौं विकेटका लागि ३५ बलमा अविजित ७६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। यसअघि कप्तान शाई होप र रोस्टन चेजले ५३ बलमा ६८ रनको साझेदारी गर्दै टोलीलाई बलियो स्थिति दिएका थिए। १९६ रनको लक्ष्य पछ्याउँदै भारतको सुरुवात डगमगाएको थियो । अभिषेक शर्मा र ईशान किशनले समान १०–१० रनमा पवेलियन फर्किनुपरेको थियो । तिलक वर्माले १५ बलमा २७ रन बनाए भने कप्तान सूर्यकुमार यादवले १६ बलमा १८ रनको योगदान दिए । तर, संजू स्यामसनले टिकेर अविजित ९७ रनको निर्णायक पारी खेले । उनले आफ्नो इनिङ्समा ४ छक्का र १२ चौका प्रहार गरे। यस जितसँगै भारतले सेमिफाइनल प्रवेश गरेको छ र आगामी खेलमा इंग्ल्यान्डसँग भिड्ने तयारीमा जुटेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *