प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

 प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको तियानजिनमा सम्पन्न साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा सहभागी भएर बुधबार स्वदेश फर्कनुहुने भएको छ।

प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गर्नुभएको थियो। भ्रमणका क्रममा उहाँले राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुभयो भने एससिओ शिखर सम्मेलनलाई सम्बोधन पनि गर्नुभयो।

नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ। शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले क्षेत्रीय सहकार्य, आपसी विश्वास, आपसी व्यापार–व्यवसाय, यातायात तथा ऊर्जा पूर्वाधार विकास, आतंकवाद नियन्त्रण र जलवायु परिवर्तनजस्ता साझा मुद्दामा नेपालको अडान स्पष्ट पार्नुभएको थियो।

शिखर सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान झेङ, रुसका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा। मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा। सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो।

प्रधानमन्त्री ओलीसँग धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू समेत सहभागी हुनुभएको थियो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *