सरकारले ‘जेनजी आन्दोलनमा’ प्रभावित संरचनाको पुनर्निर्माण कोष स्थापना गर्ने

 सरकारले ‘जेनजी आन्दोलनमा’ प्रभावित संरचनाको पुनर्निर्माण कोष स्थापना गर्ने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षति भएका संरचनाको पुनर्निर्माण गर्न सरकारले विशेष कोष स्थापना गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निजी तथा सार्वजनिक दुबै संरचनाको पुनर्निर्माणका लागि “पुनर्निर्माण कोष” स्थापना गर्ने निर्णय गरेको हो।

बैठकपछि जारी विज्ञप्तिअनुसार उक्त कोषमा रकम जम्मा गर्न सरकारी तहका निकायसँगै निजी क्षेत्र, अन्तर्राष्ट्रिय समुदाय, गैरसरकारी संस्थाहरू तथा सर्वसाधारण नागरिकलाई समेत आव्हान गर्ने तयारी गरिएको छ। सरकारका अनुसार पुनर्निर्माण प्रक्रिया पारदर्शी र दिगो बनाउन विशेष कार्यदल गठन गरिनेछ, जसले क्षतिग्रस्त संरचनाको मूल्याङ्कन, प्राथमिकता निर्धारण र पुनर्निर्माण कार्यान्वयनमा प्रत्यक्ष भूमिका खेल्नेछ।

यस्तै, मन्त्रिपरिषद्ले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झनामा विशेष स्मारक निर्माण गर्ने निर्णयसमेत गरेको छ। यसअन्तर्गत राजधानी काठमाडौंमा “जेनजी जागरण स्मारक पार्क” निर्माण गर्ने कार्यको जिम्मेवारी शहरी विकास मन्त्रालयलाई दिइएको छ। सो पार्कलाई राष्ट्रिय स्तरमै अध्ययन, सम्झना र सामाजिक चेतनाको केन्द्रबिन्दु बनाउने योजना रहेको सरकारको दाबी छ।

बैठकले आन्दोलनका क्रममा देखिएका सामाजिक, आर्थिक र सांस्कृतिक प्रभावलाई मध्यनजर गर्दै दीर्घकालीन पुनःस्थापना रणनीति बनाउने संकेत पनि गरेको छ। पुनर्निर्माण कोषमार्फत मात्र भौतिक संरचना होइन, प्रभावित समुदायको मनोबल र विश्वास पुनःस्थापना गर्न समेत सरकार सक्रिय हुने बताइएको छ।

यसअघि जेनजी आन्दोलनका क्रममा विभिन्न जिल्लामा सरकारी भवन, शैक्षिक संस्था, सडक पूर्वाधार, पसल तथा निजी घरहरूमा क्षति पुगेको थियो। आन्दोलनका क्रममा युवाहरूको जीवन उत्सर्ग हुनुका साथै देशको भौतिक संरचनामा ठूलो आर्थिक नोक्सानी भएको निष्कर्ष सरकारी निकायले निकालेको छ।

सरकारले सबै पक्षलाई संयमित ढंगले अघि बढ्न आग्रह गर्दै आगामी दिनमा राष्ट्रिय एकता र सहकार्यकै आधारमा पुनर्निर्माण प्रक्रिया अघि बढाइने बताएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *