सुनको भाउ एक सातामा ७ प्रतिशत गिरावट, अझै घट्नसक्ने

 सुनको भाउ एक सातामा ७ प्रतिशत गिरावट, अझै घट्नसक्ने

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढेर नयाँ उचाइ बनाएको एक सातामै सुनको भाउमा उच्च दरको गिरावट आएको छ । सुनका अल्पकालीन लगानीकर्ताले नाफा ‘बुक’ गर्ने हतारो गरेसँगै सुनको मूल्यमा उच्च दरको गिरावट आएको हो ।

पछिल्लो समयमा अन्तर्राष्ट्रिय राजनीतिक वातावरण तथा अमेरिका र चीनको व्यापारमा देखिएको खिचातानीका कारण लगानीकर्ताको रोजाइमा सुन पर्दै आएको थियो ।

व्यक्तिगत तथा संस्थागत लगानीकर्ताको लगानीको सुरक्षित उपकरणका रूपमा सुन बनेपछि भाउ पनि निरन्तर उकालो लागिरहेको थियो । तर, पछिल्लो एक सातामा मात्रै सुनको भाउ ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

३० असोजमा सुनको भाउ हालसम्मकै उच्च कायम भएको थियो । त्यस दिन अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिआउन्स ४ हजार ३ सय ८१ अमेरिकी डलर कायम भएको थियो ।

त्यसपछि घट्दो क्रममा देखिएको सुनको भाउ शुक्रबार यो समाचार तयार पार्दासम्म ७.१६६ प्रतिशतले घटेर प्रतिआउन्स ४ हजार ६४ डलरमा कारोबार भइरहेको छ । एक आउन्समा २८.३४ ग्राम हुन्छ ।

नेपालका सन्दर्भमा सुनको कारोबार तोलामा हुन्छ । एक तोला सुन भनेको ११.६६४ ग्राम बराबर हुन्छ । नेपालमा भने गत ३१ असोजमा सुनको भाउ हालसम्मकै उच्च कायम भएको थियो । त्यस दिन तोलाको २ लाख ५८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा एकदिन पछि पर्ने गर्छ ।

३० असोज अर्थात् १६ अक्टोबरमा हालसम्मकै उच्च भाउ कायम भएको सुन त्यसपछि भने निरन्तर घटेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निरन्तर घटे पनि त्यसको असर नेपाली बजारमा देखिएको छैन । यो बीचमा सुनको भाउ २ लाख ५३ हजारसम्ममा झरेको छ ।

त्यसपछि दिपावलीको बिदाका कारण सुनको कारोबार भएको छैन । त्यसले गर्दा सुनचाँदी व्यवसायी महासंघले नयाँ मूल्य तोकेको छैन । आगामी साता सुनको कारोबार खुल्दा अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावलाई समायोजन गरेर मूल्य कायम गरिने संघले जनाएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *