मिथिलामा आजदेखि छठ पर्वको औपचारिक सुरुवात, जनकपुरका घाटहरू सिँगार्ने काम तीव्र

 मिथिलामा आजदेखि छठ पर्वको औपचारिक सुरुवात, जनकपुरका घाटहरू सिँगार्ने काम तीव्र

मिथिला क्षेत्रको सबैभन्दा ठुलो पर्व छठ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। चार दिनसम्म मनाइने यस पर्वका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम तीव्र गतिमा भइरहेको छ।

जनकपुरधाममा रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर र मटकोरर्वा पोखरीजस्ता जलाशयहरूमा सजावटको काम भइरहेको छ।

मिथिलाञ्चल क्षेत्रमा मनाइने यो पर्व पूर्ण रूपले घरेलु उत्पादनमा निर्भर रहन्छ। आफ्नै खेतबारीमा उत्पादन गरेको गहुँ, चामलजस्ता अन्नको व्यवस्था गरेर त्यसलाई धोई-पखाली घरकै जाँतोमा पिसेर त्यसको पिठोबाट छठका सामग्रीहरू बनाउने गरिन्छ।

पर्व नजिकिएसँगै बजारमा विभिन्न सामग्री किन्नेहरूको भीड लागेको छ। जनकपुरधामका बजारहरूमा बाँस र माटोबाट बनेका सामग्रीहरू जताततै बिक्री भइरहेका छन्।

छठ पर्वमा बाँस तथा माटोबाट बनेका सामानलाई शुद्ध मानिने भएकाले यसको माग बढेको छ। मिथिलानीहरू अहिले माटोबाट बनेको घैँटो, हात्ती र बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपतीलगायतका सामान किन्न व्यस्त छन्।

चार दिनसम्म मनाइने यस पर्वमा बर्तालुले दुई दिन बिना अन्नपानीको भोकै बस्नुपर्छ। यस पर्वअन्तर्गत पहिलो दिन आज ‘नहाय–खाए’ हुनेछ।

दोस्रो दिन आइतबार दिनभरि उपवास बसी रातिमा ‘खीर’ बनाई देउतालाई चढाएर खानेछन्। यो विधिलाई ‘खरना’ भनिन्छ। त्यस्तै, मूल दिन सोमबार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोलगायत सामग्रीको व्यवस्था गरी साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ दिइन्छ। यस्तै, छठ पर्वको अन्तिम दिन मङ्गलबार बिहानपख उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर पर्वको समापन गरिनेछ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *