सिड्नीमा फेन्का न्यु साउथ वेल्थद्वारा शुभकामना आदान–प्रदान, चियापान तथा देउसी भैलो कार्यक्रम सम्पन्न
सिड्नी, अष्ट्रेलिया – २१ अक्टोबर २०२५ (मंगलवार) फेन्का न्यु साउथ वेल्थको आयोजना र Consulate of Nepal NSW, Australia को सहकार्यमा अष्ट्रेलियाको सिड्नीस्थित नेपाली वाणिज्यदूतावास (Consulate Office) मा नेपालीहरूको महान चाड दिपावली, नेपाल संवत् ११४६ र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान, चियापान तथा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता फेन्काका संरक्षक उमेश पन्तले गर्नुभएको थियो भने न्यु साउथ वेल्थका अवैतनिक महावाणिज्यदूत सन्जिव शर्मा प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमको सञ्चालन फेन्का न्यु साउथ वेल्थ एक्सन टिमका सदस्य चिरन तिवारीले गर्नुभएको थियो।
कार्यक्रमको सुरुवातमा फेन्काका कोर्डिनेटर मुक्तिराम पोखरेलले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्य तथा महत्वबारे प्रकाश पार्नुभएको थियो।

प्रमुख अतिथि सन्जिव शर्माले फेन्का न्यु साउथ वेल्थले मानवीय क्षमता अभिवृद्धि, जनवकालत, समन्वयकारी र पैरवीका साथै सामाजिक–सांस्कृतिक संरक्षणमा गरेको कार्यको प्रशंसा गर्नुभयो।
उहाँले आगामी दिनमा पनि फेन्का र सामुदायिक संस्थाहरूसँग मिलेर नेपाली समुदायको हितमा निरन्तर कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रमुख, सामुदायिक अगुवाहरू र प्रतिनिधिहरूले आ–आफ्ना विचार प्रस्तुत गरेका थिए।
मन्तव्य राख्ने प्रमुख व्यक्तिहरूमध्ये ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चर सेन्टरका अध्यक्ष विष्णु हमाल, फेन्काका संरक्षक एवं वरिष्ठ सामाजिक अभियन्ता इन्द्रा वन, एनआरएनएका पूर्व उपाध्यक्ष एवं समाजसेवी देव गुरुङ, एनआरएनए न्यु साउथ वेल्थका सचिव प्रताप पन्थी, एन्जाका महासचिव तथा लुक्ला टिभीका सम्पादक गणेश भट्ट, तराई मधेश एसोसिएसनका निवर्तमान अध्यक्ष सुभाष शाहा, तमु समाज अष्ट्रेलियाका अध्यक्ष हियुपति गुरुङ, अनेसास सिड्नी च्याप्टरका निर्वतमान अध्यक्ष ममता तिवारी, आरएसएनएका अध्यक्ष दिवाकर काफ्ले, उल्लघन नेपाली समुदायका अध्यक्ष नारायण प्रसाद चापागाईं, ब्रिज द ग्याप नेपालका सल्लाहकार शिव श्रेष्ठ, साउथ वेल्थ नेप्लिज समुदायका अध्यक्ष चतुर्भुज खरेल, र साहित्यकार दयाराम सिखंडा लगायतका व्यक्तित्वहरू रहेका थिए।
अन्त्यमा, अध्यक्ष उमेश पन्तले सम्पूर्ण सहभागिहरूप्रति धन्यवाद ज्ञापन गर्दै अष्ट्रेलियामा रहेका बिभिन्न नेपाली समुदाय र संस्थाहरूलाई एकत्रित गरी मानव संसाधन विकास, क्षमता अभिवृद्धि र संस्थागत सशक्तीकरणका क्षेत्रमा अझ प्रभावकारी रूपमा योगदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
सन् २०१८ अगस्टमा स्थापना भएको फेन्का (FENCA) अष्ट्रेलियाभरका नेपाली संघ–संस्थाको साझा संयन्त्रको रूपमा कार्यरत छ।
यसले मानव संसाधन परिचालन, सहभागितामूलक सिकाइ, नीति पैरवी, पर्यटन प्रवर्द्धन, स्वास्थ्य–शिक्षा जागरण, नेतृत्व विकास, सुशासन, र संस्थागत सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
हाल अष्ट्रेलियाभरका १०० भन्दा बढी सामाजिक संघसंस्था फेन्कामा आवद्ध छन् भने न्यु साउथ वेल्थमा मात्र ४४ वटा संस्थाहरू सक्रिय रूपमा संलग्न रहेको जानकारी संरक्षक पन्तले दिनुभयो।
