अनेसास, एनएसडब्ल्युद्वारा ‘मुक्तक महोत्सव–२०२५’ सम्पन्न
मुक्तिराम पोखरेल, सिड्नी, अस्ट्रेलिया – ११६औं लक्ष्मी जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), एनएसडब्ल्यु, अस्ट्रेलियाले ‘अनेसास मुक्तक महोत्सव–२०२५’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रम यही १८ अक्टोबर, शनिवार दिउँसो २ देखि ५ बजेसम्म सिड्नीको ब्ल्याकटाउनस्थित प्रिशा इभेन्ट हलमा आयोजना गरिएको थियो।
कार्यक्रमको सुरुवातमा कवि लक्ष्मीप्रसाद देवकोटाको तस्वीरमा दीप प्रज्वलन र माल्यार्पण गरी श्रद्धासुमन अर्पण गरिएको थियो।
कार्यक्रममा सिड्नीमा बसोबास गर्ने पुराना र नयाँ साहित्यकारहरूका साथै नेपालबाट आएका कविहरूको समेत उत्साहजनक सहभागिता रहेको थियो।
समाजका अध्यक्ष डा. प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ पत्रकार ध्रुवहरी अधिकारी प्रमुख अतिथि रहनु भएको थियो।
कार्यक्रमको सुरुवात महासचिव भावना पराजुली वास्ताकोटीको स्वागत मन्तव्यबाट भएको थियो। कार्यक्रमको सञ्चालन जनसम्पर्क प्रमुख मुक्तिराम पोखरेल र भावना पराजुली वास्ताकोटीले दुई चरणमा संयुक्त रूपमा गर्नुभएको थियो।
कार्यक्रममा दुई दर्जनभन्दा बढी साहित्यिक स्रष्टाहरूले मुक्तक वाचन गरेका थिए।
डा. गार्गी शर्मा, डा. राजु मानन्धर, ज्ञानुवाकर पौडेल, जीवराज घिमिरे, मुक्तिराम पोख्रेल, सन्तोष शर्मा तिमिल्सिना, केदार पोख्रेल, त्रिपुरा पौडेल, जितेन्द्र मल्ल, सानुप्रेम ज्योत्सना, प्रतिज्ञा अधिकारी, सौरभ किरण, दयाराम सिंखडा, प्रभात ढकाल, कोमल खतिवडा, नगेन्द्रराज भट्टराई, चतुर्भुज खरेल लगायतका कवि–कवयित्रीहरूले आफ्ना विविध बान्की, स्वाद र मिठासका रचनाहरू प्रस्तुत गरी वातावरणलाई झन् रमाइलो र जीवन्त बनाएका थिए।
प्रमुख अतिथि ध्रुवहरी अधिकारीले विदेशमा बसेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणमा नेपाली प्रवासी समुदाय लागिरहेको देख्दा अत्यन्त खुशी लागेको बताउनुभयो। उहाँले यस्ता साहित्यिक गतिविधिहरूले नेपालीको सांस्कृतिक पहिचानलाई बलियो बनाउने र दोस्रो पुस्तामा पनि मातृभाषाप्रतिको सम्मान तथा चासो बढाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमलाई सफल बनाउन Smart Mortgage, Everest Travels and Tours, SEY Education and Visa Services, र Export Education and Visa Services ले सहयोग प्रदान गरेका थिए।
सन् २०११ मा अनेसास, एनएसडब्ल्यु, अस्ट्रेलियाको स्थापना भएपछि प्रत्येक वर्ष आयोजना हुँदै आएको यो कवि सम्मेलन कोभिड–१९ का कारण केही वर्ष स्थगित भएको थियो।
संस्थाकी महासचिव भावना पराजुलीका अनुसार, “यो कार्यक्रमले नेपाली साहित्यलाई प्रवासमा अझ सशक्त बनाउने विश्वास लिइएको छ।” कार्यक्रम अनेससास अध्यक्ष डा. प्रकाश पौडेल को अध्यक्षता र महासचिव भावना पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो ।
