शिशु कल्याण मावि स्याङ्जाका पूर्वप्रधानाध्यापकसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

 शिशु कल्याण मावि स्याङ्जाका पूर्वप्रधानाध्यापकसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

काठमाडौँ । गल्याङ नगरपालिका–४ स्थित शिशु कल्याण माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक, लेखापाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जारी गरेको विज्ञप्तिमा विद्यालयलाई सूचना प्रविधि (ICT) कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ मा प्राप्त भएको रु.६ लाख ५० हजार बराबरको रकमबाट खरिद प्रक्रिया तथा खर्चमा हिनामिना गरिएको प्रमाण फेला परेपछि विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको उल्लेख गरिएको छ ।

अनुसन्धानका क्रममा तत्कालीन प्रधानाध्यापक रविलाल लुईटेल, लेखापाल छविलाल गाहा, र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापाले आपसी मिलेमतो गरी विद्यालयको नाममा प्राप्त रकम दुरुपयोग गरेको देखिएको आयोगले जनाएको छ।

प्राप्त विवरणअनुसार उनीहरूले विद्यालयको ICT कार्यक्रमका लागि खरिद गरिएका डेक्सटप कम्प्युटर ७ थान, ल्यापटप १ थान, प्रोजेक्टर १ थान र प्रिन्टर १ थान मध्ये केही सामग्री विद्यालयमा नल्याई नक्कली दाखिला प्रतिवेदन तयार पारेका थिए। सो क्रममा रु.२ लाख १७ हजार बराबरको रकम हिनामिना गरिएको उल्लेख छ।

त्यस्तै, प्रधानाध्यापक लुईटेलको नाममा रु.२ लाख ५४ हजार ६६७ रुपैयाँ २६ पैसा विद्यालय कोषबाट सापटीको नाममा चेक काटी निकासी गरी फिर्ता नगरेको पाइएको छ।

यसरी जम्मा रु.४ लाख ७१ हजार ६६७ रुपैयाँ २६ पैसा बराबरको रकम हिनामिना तथा विद्यालयलाई हानि–नोक्सानी पुगेको ठहर भएको हो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *