टुँडिखेलमा आज विशेष कार्यक्रम गरी विश्व ध्यान दिवस मनाइँदै

 टुँडिखेलमा आज विशेष कार्यक्रम गरी विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो। त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो।

संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ।

गत वर्ष डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो। सोही वर्ष पहिलोपटक टुँडिखेलमा सरकारकै आयोजनामा दिवस मनाइएको थियो। यस वर्ष पनि सरकारकै आयोजनामा यो दिवस मनाउन लागिएको हो।

नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’ का रूपमा विकास गर्नुपर्ने यस क्षेत्रमा लागेकाहरूको भनाइ छ। एघार वर्षको निरन्तर प्रयासपछि राष्ट्रसङ्घले ध्यान दिवसलाई मान्यता दिएको हो। सन् २०१४ देखि नै यो प्रस्ताव अघि बढाइएको थियो। गत वर्ष डिसेम्बर ७ मा राष्ट्रसङ्घको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि ध्यान दिवस मनाउन थालिएको हो।

ध्यानका फाइदाहरु
 ध्यानले शान्त, आनन्द र सन्तुलन प्रदान गरी संवेगात्मक विकास गराउँछ । तनाव र दबाब बढाउने सूचना, समाचार, त्यस्ता कुराहरुलगायत अन्य तनावका अवस्थाहरुमा फाइदा पुरयाउँछ । चिन्ता, दमरोग, क्यान्सर, दीर्घ दुखाइ, डिप्रेसन, मुटुका रोगहरु, पेटका समस्याहरु, अनिद्रा र तनावका कारण टाउको दुख्नेजस्ता रोगहरु समेत ध्यानले निको पार्छ । यीबाहेक ध्यान गर्नाले हाम्रो शरीरमा निम्न फाइदाहरु हुन्छन् :
शारीरिक स्वास्थ्यमा हुने फाइदाहरु
— मस्तिष्कको क्षमता वृद्धि विकास हुन्छ ।
— मस्तिष्कमा अझ राम्रो रक्तसञ्चार हुन्छ ।
— कोर्टिसोल नामक तनाव गराउने हर्मोनको उत्पादन घटाउँछ ।
— रक्तसञ्चारमा सुधार र सामान्य रक्तचाप कायम राख्छ ।
— सिकाइको क्रममा निकै प्रभावकारी तरिकाले स्नायु परिचालन हुने र मस्तिष्कको क्षमता बढाउँछ ।
— मुड राम्रो र फूर्तिलो गराउने हर्मोन सेरोटोनिन र डोपामाइनहरुको उत्पादन बढ्छ र डिप्रेसनजस्ता मानसिक रोग निको बनाउँछ ।
— प्यारासिम्पाथेटिक स्नायु प्रणालीलाई सन्तुलित बनाई तनावबाट आराम गराउनुका साथै उपचार गराउँछ ।
— रोगविरूद्धको प्रतिरोध क्षमता बढाउँछ ।
— मांसपेशीमा आरामको अनुभव गराउँछ ।
— बुढ्यौलीपन ढिलो गराउँछ र तरोताजा अनुभूति गराउँछ ।
   मानसिक स्वास्थ्यमा हुने फाइदाहरु
— चिन्ता, तनाव र डिप्रेसन घटाउँछ ।
— तनाव भइहालेमा तुरून्तै घटाउने गरी स्नायुप्रणाली विकसित हुन्छन् ।
— सकारात्मक संवेगहरु बढाउँछ ।
— एकाग्र बनाउने र वर्तमानका सावधानीहरुका बारेमा सचेत गराउँछ ।
— संवेगात्मक क्षमता, निरन्तर ताजापन र बौद्धिक क्षमताको विकास गराउँछ ।
— समानुभूति तथा दया, माया र ममताको विकास गराउँछ ।
— स्वयं आफूसँग र अन्य परिस्थितिसँग इन्द्रियहरुको संयोजन गराउने प्रक्रियामा वृद्धि गर्छ ।
— आफू को हो र जीवनको उद्देश्य तथा अर्थको बारेमा परिचित गराउँछ ।
— सामाजिकपनको विकास गराउँछ ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *