कृषि विकास बैंकद्वारा जिल्ला अदालत काठमाडौंलाई कम्प्युटर सामग्री सहयोग

 कृषि विकास बैंकद्वारा जिल्ला अदालत काठमाडौंलाई कम्प्युटर सामग्री सहयोग

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले जिल्ला अदालत काठमाडौंलाई कम्प्युटर, प्रिन्टरलगायत आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

गत भदौ २४ गते भएको आन्दोलनका क्रममा आगलागीबाट क्षति भई अदालतको सेवा प्रवाह अवरुद्ध भएपछि त्यसलाई सहज र प्रभावकारी बनाउन बैंकले सहयोग प्रदान गरेको हो।

संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत आइतबार आयोजित एक कार्यक्रममा कृषि विकास बैंक लिमिटेडले जिल्ला अदालत काठमाडौंलाई उक्त सामग्री हस्तान्तरण गरेको जनाएको छ।

यस सहयोगबाट अदालतको दैनिक प्रशासनिक तथा न्यायिक सेवा सुचारु गर्न मद्दत पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

सामग्री हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट उपमहाप्रबन्धक सुशिल हुमागाई, वरिष्ठ शाखा प्रमुखहरू महेश्वर मरहट्टा र ध्रुव पौडेल तथा वरिष्ठ शाखा अधिकृत गीता नेपाल शर्माको उपस्थिति रहेको थियो।

त्यस्तै, जिल्ला अदालत काठमाडौंको तर्फबाट उपसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत सूर्य प्रसाद दाहाल लगायत कर्मचारीहरू सहभागी हुनुभएको थियो ।

कृषि विकास बैंक लिमिटेडले यसअघि पनि भदौ २४ गते भएको आन्दोलनका घटनाबाट प्रभावित भई क्षतिग्रस्त सेवा तथा संरचना पुनः सञ्चालनमा ल्याउन विभिन्न सरकारी निकायलाई यस्तै प्रकृतिका सहयोग गर्दै आएको छ।

बैंकले सामाजिक उत्तरदायित्वलाई आफ्नो संस्थागत प्राथमिकतामा राख्दै भविष्यमा पनि सार्वजनिक हितका लागि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *