एनभीए भलिबल च्याम्पियनसिप: हेल्प नेपाल क्वार्टरफाइनलमा
काठमाडौं। नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा हेल्प नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार सम्पन्न समूह ‘ए’को खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो।
जितसँगै हेल्प नेपालले ३ अंक पुर्यायो। पहिलो खेलमा हेल्प नेपालले एपीएफलाई ३–० कै सोझो सेटमा पराजित गरेको थियो।
मणिमुकुन्दको भने यो पहिलो खेल हो।
पहिलो सेट २५–१६ ले गुमाए पनि अन्यमा भने मणिमुकुन्दले चुनौती दिएको थियो। तर, हेल्प नेपालले उत्कृष्ट प्रदर्शन गर्दै २५–१९ र २५–२२ ले खेल आफ्नो बनायो।
अब हेल्प नेपालले सेमिफाइनल पुग्न समूह ‘डी’को उपविजेतासँग खेल्नेछ।
