नेपालमा पहिलोपटक राष्ट्रिय च्याउ दिवस मनाइदै
काठमाडौं । आज प्रथम राष्ट्रिय च्याउ दिवस मनाइँदैछ । नेपाल सरकारबाट यही पुस ११ गते भएको निर्णयबमोजिम आज प्रथम राष्ट्रिय च्याउ दिवस मनाउन लागिएको हो ।
नेपालको कृषि गार्हस्थ्य उत्पादनमा ०.१५ प्रतिशत योगदान रहेको एवं करिब ३५ हजार किसान प्रत्यक्ष संलग्न रहेको च्याउ उपक्षेत्र साना तथा मझौला कृषकको आयआर्जनको माध्यमका रुपमा रहेको छ । मन्त्रालयका अनुसार नेपालमा एक हजार १५० प्रजातिका च्याउमध्ये १४७ प्रजाति खानयोग्य, ७० प्रजाति औषधीय गुणयुक्त र १०० प्रजाति विषालु रहेको विभिन्न अध्ययनले देखाएको छ ।
विगत केही वर्षदेखि उद्यमी एवं सरकारको साथ र सहयोगका कारण च्याउको व्यावसायिक उत्पादन प्रवद्र्धन भई आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनको आधार तय हुँदै गएको छ । कृषि विभागका महानिर्देशक प्रकाशकुमार सन्जेलका अनुसार आर्थिक वर्ष २०८१र८२ मा रु ६ लाख ७१ हजार बराबरको दुई हजार २६२ किलो ताजा वा चिस्यान गरिएको गोब्रे च्याउ आयात भएको थियो । त्यस्तै रु एक करोड एक लाख बराबरको १७ हजार १९८ किलो च्याउ निर्यात भएको मन्त्रालयको तथ्याङ्क छ ।
हाल नेपालको ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक रुपमा च्याउ उत्पादन गर्ने किसान रहेका छन् । विसं २०३४(३५ सालदेखि नै काठमाडौँको बलम्बु, चापागाउँ, दधिकोट हुँदै नेपालका विभिन्न स्थानमा निरन्तर च्याउखेती गरिँदै आइएको छ ।
