निर्वाचनका लागि सबै तरिकाले तयार रहनूस् : ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका लागि सबै तरिकाले तयार रहन निर्देशन दिएका छन् ।
निर्वाचन भइहाले त्यसका लागि तयार रहन निर्देशन दिँदै अध्यक्ष ओलीले भने, “आफ्नो सामर्थ्यलाई नतिजा निकाल्ने गरी लाग्नुपर्छ । निर्वाचनका लागि सबै तरिकाले तयार रहनूस् ।”
निर्वाचनमा जनअभिमत स्वेच्छाले प्रकट हुन पाउनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले शान्तिपूर्ण वातावरणमा स्वच्छ निर्वाचन जहिले भए पनि एमाले सहभागी हुने बताए । उनले एमाले विजय हुने पनि बताए ।अहिले देशलाई निकास दिने सबभन्दा सही बाटो ‘विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापना’ भएको भन्दै अध्यक्ष ओलीले संसद् पुनस्र्थापनापछि संसद्बाट समाधान खोजिनुपर्ने पार्टीको धारणा रहेको बताए ।
नयाँ वर्ष सन् २०२६ का अवसरमा बिहीबार साँझ प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय समितिलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालमा लोकतन्त्र विस्थापनको ठूलो सिलसिला गम्भीर ढंगले सुरु भएको टिप्पणी गरे । उनले नेपाली जनताको सचेतनाका कारण प्रतिगमनकारीहरूले त्यो प्रयासलाई चाहेको ठाउँमा पुर्याउन भने नसकेको बताए ।
“जननिर्वाचित सरकार ढल्नु भनेको देशमा लोकतन्त्र र संविधान ढल्नु हो, जनताको सार्वभौमसत्ता थिचिनु, मिचिनु र ढालिनु हो,” ओलीले भने ।
वर्तमान सरकार असंवैधानिक भएको र संसद् अनधिकृत व्यक्तिको सिफारिशमा विघटन गरिएको भन्दै ओलीले प्रधानमन्त्री परिवर्तनको कुरा मात्र नभई लोकतान्त्रिक प्रणाली र प्रक्रियामाथिको प्रहार भएको प्रष्ट पारे ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकिएको भए पनि अहिलेसम्म निर्वाचनको वातावरण नबनेको र सरकारले वातावरण बनाउने दिशामा काम नगरेको उनको भनाइ छ ।
