५ लाखभन्दा बढी रकम चेकबाट नगद झिक्न नपाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँभन्दा बढी रकमको चेक साटेर नगद झिक्न नपाइने व्यवस्था लागू गरेको छ। केन्द्रीय बैंकले ५ लाखभन्दा माथिको चेक जारी गर्दा एकाउन्ट पेयी अनिवार्य गरेको हो।
यसअघि १० लाख रुपैयाँसम्मको नगद कारोबारको सीमा घटाएर सरकारले ५ लाखमा झारेको थियो। सो निर्णय राजपत्रमा प्रकाशित भएपछि राष्ट्र बैंकले चेकमार्फत प्रतिपटक झिक्न सकिने नगदको सीमा पनि ५ लाख कायम गरेको हो। अब ५ लाखभन्दा बढी रकम सम्बन्धित व्यक्तिको खातामै जम्मा हुनुपर्नेछ।
नयाँ व्यवस्थाअनुसार कुनै पनि व्यक्ति वा संस्थाले नगद कारोबार गर्दा प्रतिपटक ५ लाखभन्दा कम मात्रै गर्न पाउनेछन्। ५ लाखभन्दा बढी रकमको कारोबार अनिवार्य रूपमा एकाउन्ट पेयी चेकमार्फत गर्नुपर्नेछ।
राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलका अनुसार यो व्यवस्थाले सामाजिक कार्य वा व्यापारमार्फत नगद संकलन गर्ने परिवारहरूलाई भने असर नपर्नेछ।
केन्द्रीय बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले ५ लाख वा सोभन्दा बढी रकम भुक्तानी गर्दा एकाउन्ट पेयी चेक वा सम्बन्धित व्यक्तिको खातामार्फत मात्र भुक्तानी गर्नुपर्नेछ। फर्म, कम्पनी, संस्था वा कार्यालयका नाममा काटिएका चेकको भुक्तानी पनि एकाउन्ट पेयीमै गर्नुपर्ने व्यवस्था गरिएको छ।
तर, कुनै निक्षेपकर्ता वा बचतकर्ताले विशेष कारण देखाएर नगद भुक्तानी माग गरेमा, कारण मनासिब देखिए सीमाभन्दा बढी नगद भुक्तानी गर्न सकिनेछ। त्यस्तो भुक्तानीको मासिक विवरण भने अद्यावधिक गर्नुपर्नेछ।
त्यस्तै, लघुवित्त वित्तीय संस्थाले पनि सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण ऐन, २०६४ को उद्देश्यअनुसार ५ लाख वा सोभन्दा बढी रकमको भुक्तानी अनिवार्य रूपमा एकाउन्ट पेयी चेकमार्फत गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।
