नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि, प्रतिनिधिको नाम दर्ता बिहान ८ बजेदेखि

 नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि, प्रतिनिधिको नाम दर्ता बिहान ८ बजेदेखि

काठमाडौँ । नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबिच आजदेखि विशेष महाधिवेशन पक्षधरको आह्वानमा विशेष महाधिवेशन सुरु हुँदैछ । काठमाडौँस्थित भृकुटीमण्डपमा दिउँसो १ः०० बजे विशेष महाधिवेशनको उद्घाटन हुने तय भएको छ ।

महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता बिहान ८ बजेदेखि शुरू हुने भएको छ । दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालय संयोजक मनोजमणि आचार्यका अनुसार कार्यक्रमस्थल भृकुटीमण्डप मूल गेट सँगैका स्टलहरूबाट नाम दर्ता हुनेछ ।

उनले नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कुनै कागजात, एकप्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रुपैयाँ साथमा लिइ आउनसमेत अनुरोध गरेका छन् ।

उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण गरिएको छ ।

मञ्च व्यवस्थापन समितिका पुडासैनीका अनुसार उद्घाटनका दिन काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने र्‍यालीलाई व्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने गरी तयारी थालिएको छ । विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको जनाउँदै उनले विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेतालाई भने आमन्त्रण नगरिएको बताएका छन ।

मुलुकभरबाट विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश प्रतिनिधि आइसकेको र केही प्रतिनिधि आउने क्रम जारी रहेको आयोजक समितिले जनाएको छ । आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौँका विभिन्न स्थानमा तीन हजार ६०० प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ । साथै थप दुई–दुई सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुनेगरी प्रबन्ध मिलाइएको उनले जानकारी दिए ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *