गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय
काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिने निर्णय गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिने निर्णय गरेको हो ।
यससँगै अब नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा गगन थापा नेतृत्वको कांग्रेसको पक्षमा आएको छ । पुस २७ गतेदेखि बिहीबार बिहानसम्म चलेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनको पक्षमा कांग्रेसको लिगेसी औपचारिक रुपमा गएको हो ।
आज दुबै पक्षका नेता कार्यकर्ताहरु निर्वाचन आयोग पुगेर आ–आफ्ना दलील पेश गरेका थिए । अहिले निर्वाचन आयोगको कार्यालयअगाडि शेरबहादुर देउवा र गगन थापा पक्षका समर्थकहरु भेला भएका छन् ।
यससँगै गगन थापा पक्षका समर्थकहरु उत्साहित भएका छन् भने शेरबहादुर देउवा पक्षधर समर्थकले नाराजुलुस गरिरहेका छन् । अहिले आयोगको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यसअघि आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै देउवा नेतृत्वको कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरुलाई आधिकारिकता नदिए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
गगन थापा पक्षधरले सभापति देउवाको मञ्जुरीबिना विशेष महाधिवेशन आयोजना गरेपछि कांग्रेसको कलह चुलिएको हो । राजधानीको भृकुटीमण्डपमा आयोजित उक्त महाधिवेशनले गगन थापालाई पार्टीको सभापति चयन गरेको छ ।
