पूर्णबहादुर खड्का निर्वाचनमा सहभागी नहुने
काठमाडौँ नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का आसन्न निर्वाचन नलड्ने भएका छन् । पार्टीभित्र विकसित पछिल्लो घटनाक्रमपछि उनी २१ फागुनमा हुने निर्वाचनमा सहभागी नहुने भएका हुन् ।
निवर्तमान कार्यवाहक सभापति खड्का सुर्खेत-१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिसमा परेका थिए । तर, उनीनिकट स्रोतले खड्का निर्वाचन नलड्ने निर्णयमा पुगेको पुष्टि गरेको छ ।
खड्कानिकट एक नेताका अनुसार उनी चुनावमा उम्मेदवार नबने पनि पार्टीका लागि सक्रिय रहनेछन् । खड्काले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको फैसला जुनसुकै आए पनि पार्टीलाई एकताबद्ध बनाउने बताएका छन् ।
‘अदालतको निर्णय गगनजीको पक्षमा आए सबैलाई मिलाएर पार्टीलाई एक ढिक्का राख्ने,’ ती नेताले भने, ‘संस्थापनको पक्षमा निर्णय आयो भने गगनजीहरूलाई पनि मिलाएर लैजान्छु भन्नु भएको छ ।’
