क्षेत्रफल र उत्पादकत्व घट्दा धान उत्पादनमा गिरावट

 क्षेत्रफल र उत्पादकत्व घट्दा धान उत्पादनमा गिरावट

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८२र८३ मा धान उत्पादन गत वर्षको तुलनामा घट्ने प्रक्षेपण गरेको छ। मन्त्रालयका अनुसार देशभर धान खेतीको क्षेत्रफल तथा उत्पादकत्व दुवैमा कमी आएकाले यस वर्ष कुल ५७ लाख पाँच हजार १२६ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको हो।

सूचना अधिकारी महानन्द जोशीका अनुसार गत आर्थिक वर्ष २०८१ र ८२ मा देशभर ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो। सोको तुलनामा चालु वर्ष धान उत्पादनमा २ लाख ५० हजार ३५० मेट्रिक टन अर्थात् ४ दशमलव २० प्रतिशतले कमी आउने अनुमान गरिएको छ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१ र ८२ मा धान खेती गरिएको कुल क्षेत्रफल १४ लाख २० हजार ६३६ हेक्टर रहेकोमा चालु आर्थिक वर्षमा ३ दशमलव ८ प्रतिशतले घटेर १३ लाख ७६ हजार ८७२ हेक्टरमा सीमित भएको छ। गत आवमा प्रतिहेक्टर ४ दशमलव १९ मेट्रिक टन उत्पादकत्व रहेको थियो।

धान खेतीको क्षेत्रफल घट्नुका मुख्य कारणका रूपमा युवा पलायन, बसाइँसराइ, फलफूल तथा नगदे बालीतर्फ किसानको आकर्षण बढ्नु, तराई तथा सहरी क्षेत्रमा आप्रवासन वृद्धि हुनु तथा खेतीयोग्य जमिन औद्योगिक र अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग हुनु रहेका मन्त्रालयले जनाएको छ।

विशेषगरी मधेस प्रदेशमा धान रोपाइँको समयमा खडेरी पर्नु ले धान लगाइएको क्षेत्रफल घटेको र त्यसको प्रत्यक्ष असर समग्र धान उत्पादनमा परेको मन्त्रालयको भनाइ छ।

चालु आर्थिक वर्षमा उन्नत बिउबिजन र मलखादको पर्याप्त उपलब्धता रहे पनि प्रतिकूल मौसमका कारण उत्पादकत्वमा अपेक्षित वृद्धि हुन नसकेको सूचना अधिकारी जोशीले जानकारी दिए।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *