अलैँची निर्यातमा ५७ प्रतिशतको वृद्धि, किसानमा उत्साह

 अलैँची निर्यातमा ५७ प्रतिशतको वृद्धि, किसानमा उत्साह

काठमाडौँ । नेपालबाट निर्यात हुने प्रमुख नगदे बालीमध्ये एक अलैंचीले पछिल्लो समय उत्साहजनक बजार पाएको छ। चालू आर्थिक वर्ष २०८२र८३ को पहिलो ६ महिनामा नेपालबाट ७ अर्ब १९ करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको सरकारी तथ्यांकले देखाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५७.६६ प्रतिशतले वृद्धि हो।

वाणिज्य तथा आपूर्ति विभागका अनुसार गत आर्थिक वर्ष २०८१ र ८२ को पहिलो ६ महिनामा ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको मात्रै अलैंची निर्यात भएको थियो। यस आधारमा हेर्दा चालू वर्षको सुरुवाती ६ महिनामै उल्लेखनीय प्रगति देखिएको छ।

नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष दिपक नेपालका अनुसार यो वर्ष अलैंची निर्यात बढ्नुको कारण मूल्य वृद्धि रहेको बताएका छन । किसान र व्यापारीले राम्रो मूल्य पाएपछि अलैंची होल्ड नगरी निर्यात गर्दा निकासीको आकार बढेको नेपालले जनाएका छन ।

गत आर्थिक वर्षभरिमा नेपालबाट ७ अर्ब ६८ करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको थियो। तर चालू वर्षको केवल ६ महिनामै ७ अर्ब १९ करोड रुपैयाँ बराबरको निर्यात भइसकेको छ। यसले यस वर्ष अलैंची निर्यातले नयाँ कीर्तिमान बनाउन सक्ने संकेत गरेको छ।

व्यापार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा माग बढ्नु, उत्पादनमा सुधार आउनु र मूल्य राम्रो पाइनु निर्यात वृद्धिका प्रमुख कारण रहेको बताएका छन।

पूर्वी पहाडका किसान उत्साहित

नेपालको मुख्य अलैंची उत्पादन क्षेत्र इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम र धनकुटा जिल्लाका किसानहरू यस वर्षको बजारबाट निकै उत्साहित छन्। अघिल्ला वर्षमा रोग, उत्पादन घट्ने समस्या र बजार मूल्यको अनिश्चितताले किसान निराश थिए। तर यस वर्ष उत्पादनसँगै मूल्य पनि राम्रो पाइएकाले किसानको मनोबल बढेको छ।

इलामका किसान गोपाल लिम्बू भन्छन्, “अघिल्ला वर्ष रोग र कम मूल्यले समस्या थियो, तर यसपटक राम्रो उत्पादन र मूल्य पाउँदा लगानीको प्रतिफल मिलेको छ।”

अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैंचीको माग

नेपाली अलैंची मुख्यतः भारत, पाकिस्तान, बंगलादेश, संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरेबिया तथा अन्य मध्यपूर्वी देशहरूमा निर्यात हुने गर्छ। यसको सुगन्ध, गुणस्तर र स्वादका कारण अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैंचीको छुट्टै पहिचान बनेको छ।

व्यापारीका अनुसार भारतमार्फत तेस्रो मुलुकमा निर्यात हुने परिपाटी घट्दै प्रत्यक्ष निर्यात बढ्दै जानु सकारात्मक संकेत हो।

किसानलाई चुनौती अझै कायमै

अलैंची खेतीमा रोग, जलवायु परिवर्तन, अस्थिर मूल्य, भण्डारण तथा प्रशोधन प्रविधिको कमी, र बजार विविधीकरणको अभाव जस्ता चुनौती अझै कायम रहेका छन्। विशेषगरी ‘चिरा रोग’ र ‘फोके रोग’ ले उत्पादनमा असर पुर्‍याउने गरेको किसानको गुनासो छ।

कृषि विज्ञहरूका अनुसार आधुनिक खेती प्रविधि, रोग व्यवस्थापन, प्रशोधन उद्योग स्थापना र प्रत्यक्ष निर्यात प्रणाली विस्तार गर्न सके अलैंची क्षेत्रले अझ ठूलो फड्को मार्न सक्छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *